सात वर्षअघि पलेँटी श्रृंखलामा उपस्थित हुँदा संगीतकार प्रकाश गुरुङले आफूलाई उत्तिकै राम्रो गायकका रुपमा प्रस्तुत गरेका थिए। यसपाला फेरि त्यही मञ्चमा आउँदा उनी श्रोताका बेग्लै जिज्ञासा मेट्दैछन्। त्यो हो, आधुनिक नेपाली गायनलाई दुई फरक पुस्ताले कसरी बुझ्दै र अभ्यास गर्दै आएको छ भन्ने उनको आफ्नै पारिवारिक अनुभव।
दसौं वर्षमा प्रवेश गरेको पलेँटीको दोस्रो प्रस्तुति आउँदो शुक्रबार असार १३ गते संगीतमा लागेका दुई नेपाली पुस्ता अर्थात् पिता र पुत्री अर्थात् प्रकाश गुरुङ र रिमा होडा गुरुङको हुनेछ।
औपनिवेशिक दार्जिलिङमा अंग्रेजसँगै भित्रिएको बाह्य छाप र पश्चिमा संगीतको प्रभावले एकखालको वातावरण तयार भएको थियो अम्बर गुरुङ, गोपाल योञ्जन, दिब्य खालिङ हुँदै प्रकाश गुरुङसम्मले संगीतमा त्यही वातावरण आफूसँग बोकेर नेपाल ल्याए। यहाँ अभ्यास हुँदै गरेको गायकीसँग त्यसको मेलमिलापपछि नै आधुनिक नेपाली संगीतको विकास भएको मानिन्छ।
‘रेडियो नेपालमा ‘मेरो रहर ब्यूँझिएर, तिम्रो छेउ आइ हाँसे’को रेकर्डिङ हुँदै थियो,’ पुरानो अनुभव खोतल्दै प्रकाश भन्छन्, ‘संगीतकार नातिकाजीले यो त पुरै डिस्को गीत भयो भन्नथाल्नुभो ।’
प्रकाशका अनुसार पुरै गीत तयार भएपछि स्वयं नातिकाजीले त्यसको प्रशंसा गरेका थिए।
यसबाहेक पनि ओमविक्रम विष्ट र सुकमित गुरुङका पुराना ‘सुनचाँदी भन्दा महँगो यो ज्यानलाई’, ‘म भनि बाँचेको प्रिय’, ‘धेरै नजिक हुनु पर्दैन मान्छेलाई’ देखि केहीअघि मात्रै श्रोतामाझ चर्चित फिल्मी गीत ‘बोल बोल पाखाहरु’सम्ममा संगीतकार प्रकाशको विशेषता झल्किन्छ ।
‘मेरा गीतहरुलाई कतिपयले पप भनिदिन्छन् जबकि मैले आजसम्म पप गीत बनाएकै छैन,’ प्रकाश भन्छन्, ‘मैले गरेका सबै रचनाहरु आधुनिक संगीतको एउटा नयाँ स्वरुप हो ।’
उनका अनुसार आधुनिक गीतमा सबैले ‘मेलोडी’ (माधुर्य)मा मात्र एकोहोरो ध्यान दिइरहेको बेला उनले ‘रिदम’(ताल)लाई पनि प्राथमिकतामा राखिदिएका मात्र हुन् ।
गोपाल योञ्जनको टिममा तबला बजाएको अनुभव मात्र होइन स्वयं नारायणगोपालका निम्ति पनि उनले वाद्यवादन गरे ।
‘म रिदमबाटै आएको मान्छे,’ उनी भन्छन्, ‘जुन कुरामा मेरो आत्मविश्वास थियो, आफ्ना रचनामा त्यसैलाई अघि बढाएँ ।’
आफुले सुरुगरेको त्यो प्रवृत्ति अरु कसैमा अहिलेसम्म नदेखिएको उनी बताउँछन् ।
अनौठो उठान र बीचमा अस्वाभाविक मोडहरु दिएर बग्ने उनका संगीत स्वयं प्रकाशको स्वरमा गुञ्जँदा अझ बढी भावपूर्ण बन्छन् ।
स्वर यसरी जीवित हुनुको जस उनी संगीत प्रशिक्षकका रुपमा दैनिक पाँच घन्टाभन्दा बढी रियाज गर्नुलाई दिन्छन् । तै पनि उनी आफूलाई गायक भनिहाल्न चाहँदैनन् ।
‘म संगीतकारै हुँ,’ उनी थप्छन्, ‘अरुले गाइदिए पनि आफ्ना गीतप्रति हरेक सर्जकको बेग्लै ‘कसक मसक’ हुन्छ, त्यस्ता संगीतकारसँग स्वर पनि छ भने त्यसलाई सुनाउन पलेँटी सबैभन्दा उपयुक्त स्थल हो ।’
शुक्रबारको कार्यक्रममा उनले भर्खरै तयार पारेका कालीप्रसाद रिजाल र विजय शिवाकोटीलिखित दुई गीत पनि सुनाउने भएका छन् ।
आफूसँगै मञ्चमा प्रस्तुत हुने छोरी रिमाले छवटा जति गीत सुनाउने प्रकाश बताउँछन् । इलाहावाद विश्वविद्यालयबाट संगीतमैस्नातकोत्तर गरेकी उनी आधुनिक नेपाली गायिकाको रुपमा परिचित छिन् ।
यसरी श्रोता दर्शकको निम्ति यसपटकको पलेँटी दुई पुस्ताको अनुभव सुन्ने मञ्च पनि बन्ने भएको छ ।
‘उनले सानैदेखि संगीतमा लगाव देखाइन् र वातावरण पनि पाउँदै गइन्,’ प्रकाश भन्छन्, ‘मैले बनाएका गीत त गाउँछिन् नै मेरा तौरतरिका पनि बुझिदिइन् भने राम्रो गर्नेछिन् भन्ने विश्वास छ ।’
सानैदेखि आदर्शका रुपमा हेर्दै आएका आफ्नै पितासँग पहिलोपटक एउटै मञ्चमा प्रस्तुत हुनलागेकामा रिमा पनि उत्तिकै उत्साहित देखिन्छिन् ।
‘म उहाँकै गीत सुनेर हुर्किएकी हुँ,’ उनी भन्छिन्, ‘यो अनौठो र रमाइलो अनुभव हुनेछ ।’
पलेँटीका संयोजक एवं गायक आभाषका अनुसार यसपालाको प्रस्तुती आफैँमा नौलो थालनी पनि हुनेभएको छ ।
‘अहिलेसम्म हामीले पुराना पीढीका गीतकार, संगीतकार र गायक–गायिकालाई प्रस्तुत गर्दै आयौं,’ उनी भन्छन्, ‘अब भने उनिहरुमध्येकै संगीत घरानाबाट अग्रज र तिनका सन्ततीलाई साथसाथै उभ्याउन थालेका छौं ।’
उनका अनुसार पलेँटीमा नयाँ पुस्तालाई प्रवेश गराउने थालनीका रुपमा पनि यो कार्यक्रम महत्वपूर्ण हुनेछ ।
Post a Comment