news and more entertainment

म बाँचुञ्जेल बुढो हुन्न’भुवन केसी, नायक

२०७१ जेठ २७
बेला बेलामा युवतीसँगको सम्बन्धका कारण चर्चामा आउने अभिनेता भुवन केसी दोश्रो संविधान सभाको निर्वाचनमा भने प्रत्यक्ष चुनाव लड्ने खबरले चर्चामा आए । फिल्मनगरीमा ‘सदाबहार’ अभिनेताको भनेर सम्बोधन गरिने अभिनेता केसीसँग कुराकानी:

फिल्म नगरीमा हिट मानिने तपाईं राजनीतिमा त फ्लप हुनु भयो नि !

म कुनै विज्ञ राजनीतिज्ञ होइन । देश र जनताको लागि केही गरौं भनेर एमाले पार्टी प्रवेश गरेको हुँ । पार्टीले पनि कलाकारको इज्जत गर्दै संविधान सभा निर्वाचनको लागि उपलब्ध गराएको हो । समानुपातिक सभासदको तालिकामा पनि मलाई राखेकै हो । तर, प्राविधिक कारणले म पर्न सकिन । तर, कुनै पनि पार्टीले कलाकारलाई सम्मान गरेर टिकट उपलब्ध गराउनु नै ठुलो कुरा हो ।

तपाईंलाई प्रत्यक्ष र समानुपातिक सभासदको सुचीमा नराख्न एमाले पार्टी तथा नेताकै बिरोध थियो भनिन्छ नि ?

संसारमा कसैको पनि बिरोधी हुँदैनन् भन्ने मलाई लाग्दैन । मलाई चाहिं बिरोध गर्नका लागि बिरोध गरियो । तर, मलाई सहयोग गर्ने धेरै हुनुहुन्थ्यो ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?

काजोल फिल्मस्ले ‘ड्रिम’ नामक फिल्म बनाउँदै छ । यो फिल्मको म आफैंले निर्देशन गर्दैछु । छोरो अनमोलले लिड रोल निभाउँदैछ । यही त हो फिल्मको गीत रेकर्डिङ, स्क्रिप्ट फाइनल र कलाकार छनोटको काममा व्यस्त छु ।

आफ्नो फिल्मको हिरो त छोरोलाई पो बनाउन लाग्नु भएछ । भनेपछि भुवन केसी अब बुढो भएको हो ?

कलाकार कहिल्यै बुढो हुँदैन । जति उमेर बढ्दै गयो कलाकारमा त्यती नै परिपक्वता बढ्दै जान्छ । यो फिल्मको कथा नै टिनेजर्स लभ स्टोरी भएका कारण छोरोलाई अभिनय गराउन लागेको हुँ । भुवन केसी बाचुञ्जेल बुढो हुँदैन ।

‘साथी म तिम्रो’ पछि फिल्म निर्माणमा ब्याक हुन काजोल फिल्मस्लाई धेरै वर्ष लाग्यो । किन ?

काजोल फिल्मस्ले २३ वर्षको अन्तरमै फिल्म निर्माण गर्दै आएको छ । हामी सोचेर मात्रै फिल्म बनाउँछौं । उत्कृष्ट स्क्रिप्ट, दर्शकको मन जित्ने र राष्ट्रलाई नै सन्देश दिने फिल्म बनोस् भन्ने हाम्रो चाहना हो ।
‘साथी म तिम्रो’ले सोचे अनुसारको व्यापार गर्न नसकेपछि फिल्म निर्माणमा ढिलाइ गर्नुभएको हो ?
म्यारोडोनाले फुटबल खेलमा सधैं खोल गर्नुपर्छ भन्ने छैन । तर, उसको खेल जहिल्यै उत्कृष्ट हुन्छ । नारायण गोपालले गाउनु भएको सबै गीत पनि उत्कृष्ट छैनन् । तर, नारायण गोपालले गाएका तर नचलेका गीत पनि अरुले गाएको भन्दा उत्कृष्ट छन् । त्यसैले म दावाकासाथ भन्छु अरु ब्यानरले बनाएको फिल्म भन्दा स्तरिय र गुणस्तर फिल्म काजोल फिल्मस्ले बनाउँछ । व्यापारमा ‘अप्स एण्ड डाउन’ त भैहाल्छ नि ।

तपाईंको दुई वटै बैवाहिक सम्बन्ध दिगो रहेन । किन ?

म लाखौं नेपालीको प्रिय कलाकार भएँ । तर मेरा श्रीमतीहरुसँग त्यती राम्रो सम्बन्ध हुन सकेन । यसबाट म आफैं अपसोच छु । मेरो प्रयास बैवाहिक सम्बन्ध राम्रो होस् भन्ने थियो, तर भएन । यसलाई पनि म जीन्दगीको एउटा महत्वपूर्ण पाटोको रुपमा लिन्छु ।

बैवाहिक सम्बन्ध दिगो नहुनुमा आफू केमा चुके जस्तो लाग्छ ?

आफ्नो तर्फबाट म केहीमा पनि चुके जस्तो लाग्दैन । म सबैलाई राम्रो होस् भन्ने सोच्दछु । बिहे कसैले पनि बिछोड हुन्छ भनेर गर्दैन । तर, समय, विचार, संस्कृति नमिलेपछि सँगै बस्नु भन्दा एक अर्कासँग छुट्टिएर बस्दा राम्रो हुन्छ भनेर हामी एक अर्काबाट छुट्टिएका हौं । सुस्मिताजी (दोश्रो श्रीमती) सँग मेरो कानुनी रुपमै सम्बन्ध बिच्छेद भैसक्यो । हामीबिच कुनै खालको सम्बन्ध छैन । तर, पनि म उहाँको भलो चाहने व्यक्ति हुँ ।

पहिलो पत्नीसँग चाहिं तपाईंको सम्बन्ध कसरी टाढियो नि ?

सुरुदेखि नै उहाँ आफ्नो व्यवसायमा आवद्ध हुनुहुन्थ्यो । अहिले उहाँ सन्तान सहित अमेरिकामा हुनुहुन्छ । आ-आफ्नो व्यवसायको कारणले गर्दा हामी छुट्टिएका हौं । उहाँसँग मेरो पारिवारिक सम्बन्ध राम्रो छ । हाम्रो मनको दुरी बढेको छैन । हामी अहिले पनि सम्पर्कमा छौं ।

फेरि श्रीमती भित्र्याउने तयारीमा हुनुहुन्छ भन्ने सुनिन्छ नि ?

यो झुठो हो । यसमा कुनै सत्यता छैन । यदि त्यस्तो हो भने म सबैलाई जानकारी गराउँछु । यो कसैको मनगढन्ते कहानी मात्रै हो । तेश्रो बिहे गर्ने मेरो सोच छैन । म अहिले राष्ट्र र फिल्म क्षेत्रको लागि मात्रै सोच्दैछु ।
तपाईंको नाम किन बढी युवतीसँग जोडिएर आउँछ ?

म एकदमै ‘फ्रेन्ड्ली’ छु । म सबै उमेर समुहसँग मिल्छु । तर, एउटा स्टार कलाकार कुनै युवतीसँग हिड्दा बोल्दा चाहिं त्यसलाई विभिन्न कोणबाट हेरिन्छ । यसलाई म सहज रुपमै लिन्छु । अहिलेसम्म आएका सबै समाचार मनगढन्ते कहानी मात्रै हुन् ।

नायिका जिया केसीसँगको सम्बन्ध चाहिं के हो त ?

कसैले म माया गर्छु, मन पराउँछु भन्नु मेरो लागि खुसीको कुरो हो । उहाँलाई म मन परेको हुन सक्छु तर हामी बिच त्यस्तो कुनै सम्बन्ध छैन ।

केही नपाकेरै त कसरी गन्ध आउँछ र ?

स्टारहरुको लाइफमा यही त फरक छ नि । कोहीसँगको सामान्य भेटघाटलाई पनि शंकाले हेर्ने गरिन्छ ।

यस्तो समाचार आउँदा फ्यानप्रति असर पर्छ भन्ने लाग्दैन ?

मलाई त्यस्तो लाग्दैन । म म्यारोडोना र नारायण गोपालको फ्यान हुँ । म्यारोडोनाले गोल गर्छ कि गर्दैन ?

 भन्दा पनि म उसको खेल हेर्छु । म उसको व्यक्तिगत जिन्दगीमा जान चाहन्न । उसले जाँड र रक्सी के खान्छ मलाई त्यसको मतलब हुँदैन । त्यसैले मेरा फ्यानलाई पनि मेरो व्यक्तिगत प्रसंगले केही असर गर्छ जस्तो मलाई लाग्दैन ।

अन्त्यमा, तपाईंको अमेरिकाको यात्रा बारे बताइदिनुस् न ।
जुलाइको २५ तारिखमा छोरा र छोरीलाई भेट्न म अमेरिका जाँदैछु । पारिवारिक भेटघाटसँगै होम प्रोडक्सनको फिल्म ‘साथी म तिम्रो’लाई अमेरिकाको न्यूयोर्क र बोस्टनन शहरमा देखाउने कार्यक्रम छ । करिब डेढ महिनाको अमेरिका बसाइ पछि नेपाल फर्केर मेरो ‘ड्रिम’ फिल्मको छायाँकन सुरु गर्छु ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget