असार १३ - रुकुमका धनबहादुर विक यतिखेर इराकको हिंसाग्रस्त क्षेत्र
टिक्रिट सहरमा बन्धकको हैसियतमा छन् । जुन ८ देखि घर भित्रको भित्रै छन् ।
कोठामा उनीसहित कास्कीका सन्तोष लामिछाने, ओखलढुंगाका अजित तामाङ र चितवनका
प्रकाश विश्वकर्मा पनि छन् ।
सबैको हालत उस्तै छ । कोठामा खानेकुरा सिद्धिँदै गइरहेको छ । किन्नका लागि
बाहिर जाने अवस्था छैन । 'होटल बन्द हुनुअघि ल्याइएको पिठो खाइरहेका छौं,'
धनकुमारले भने, 'त्यो पनि सिद्धिँदै गइरहेको छ ।' जुन ८ मा सलामदिनस्थित
सद्दाम हुसेन मस्जिद नजिकै रेन्टुरेन्टमा उनीहरू काम गरिरहेका बेला एक्कासि
गोली-वषर्ा भयो ।
उनका इराकी मालिक होटल बन्द गरी हिँडे । उनीहरू पनि कोठामा आएर बसे ।
'रातभर गोली हानाहान भयो,' उनले भने, 'कसैसँग फोन सम्पर्क गर्ने अवस्था
थिएन । इराकमा अरू नेपालीसँग सम्पर्क पनि थिएन ।' स्थिति असामान्य बन्दै
गयो । प्रहरी बसेका पोस्टहरूमा विद्रोहीले कब्जा जमाए । सबै सेना र प्रहरी
भागे ।
विद्रोहीले सहर कब्जा गरेलगत्तै धेरै इराकी घरबार छाडेर भागे । उनका मालिक
पनि परिवार लिएर अर्को सहर सुलेमानियातिर लागे । उनीहरूले चलाउने 'कोराक'
मोबाइलको सेवा बन्द भयो । परिवारसँग सम्पर्क टुट्यो । आफूहरू संकटमा परेको
खबर कतै दिन पाएनन्, उनीहरूले ।
होटलमा काम गर्ने एक इराकीले 'इत्तिसलत' मोबाइल कम्पनीको सिम दिएपछि मात्रै
आफूहरू द्वन्द्वमा फसेको सूचना उनीहरूले बाहिर दिन पाएका हुन् । तीन साता
बित्दा पनि टिक्रिटबाट बाहिर निस्कन सक्ने अवस्थामा उनीहरू छैनन् ।
'जतिखेरै गोलाबारुद बर्सिन्छ,' धनबहादुरले भने, 'रातभर गोली पडकइरहेकाले
सुत्न सकिने स्थिति छैन । दिउँसो एकदुई घन्टा सुनसान भएका बेला सुत्ने हो
।'
उनले भने, 'कतिखेर के हुन्छ थाहा छैन । मरिने हो कि बाँचिने हो ? यता
आफूहरूको यो हालत, उता परिवारबाट आउने रुवाबासीको फोन । धन्न जीवनले थेग्न
सकेको छ ।'बेलाबेला साथीभाइ, परिवारबाट आउने सुखद खबरले भने केही आस जाग्ने
उनले बताए । 'हामीलाई कस्तो छ भनेर घरी पाकिस्तानबाट सोधखोज हुन्छ, घरी
कुबेत र इराकबाटै फोन आउँछ ।' उनले भने, 'यस्ले पनि केही राहत मिल्छ ।'
सडक छेउकै घरमा उनीहरू छन् । विद्रोहीको गाडी त्यही सडकबाट दैडिरहेको हुन्छ
। बिजुली छैन । पानीको आपूर्ति छैन । 'ट्वाइलेटकै पानी पिइरहेका छौं,'
उनले भने, 'कहिलेकाहीं साथीहरू बिरामी हुन्छन् । औषधि उपचार गर्न सकिँदैन ।
त्योभन्दा पीडा के हुन्छ ?'
उनीहरूजस्तै फसेका अरू तीन साथीहरू कानेपोखरी ९ मोरङका ३८ वर्षीय मोहनकुमार
बस्नेत, दमक १३ झापाका ३८ वर्षीय प्रेस गिरी, घोरही ठाकुर ९ का टोपबहादुर
बस्नेतबाट पनि अवस्थाबारे सोधपुछ हुन्छ । 'उताबाट प्रेस दाइले फोन
गर्नुहुन्छ,' उनले भने, 'नेपाल सरकारले उद्धारको प्रयास गरिरहेको
सुनाउनुहुन्छ ।' गिरी समूहले १० मिनेट पैदल दूरीमा पर्ने टिक्रिट टिचिङ
अस्पतालमा शरण लिएका छन् । 'हामी पनि त्यही समूहमा मिसिने प्रयासमा छौं,'
उनले भने ।@eKantipur
Post a Comment