news and more entertainment

धेरैसँग यौन सम्पर्क राख्दैमा मर्द भइन्छ?

'मेरो आजको डेट खास झकास भएन यार'
 
आठ बर्ष अघिको कुरा हो। काठमाडौंको बसन्तपुरमा म लागुपदार्थका पूर्व प्रयोगकर्तासँग कुराकानी गरिरहेकी थिएँ।  साँझको समय थियो। एउटी युवती त्यो झुन्डमा प्रबेश गरिन। र, आफ्नो त्यो दिनको यौनसम्बन्धबारे बताइन्। बिना संकोच।
 
उनी पनि लागुपदार्थकी पूर्व प्रयोगकर्ता थिइन्। केटाहरू उत्साहित बने थप कुरा सुन्न र उनको 'पार्टनर' बारे जान्न। उनले भनिन्, 'मैले आजसम्म चारवटा केटासँग सम्बन्ध राखेँ। कोही हेर्दा राम्रा थिए भने कोही सम्बन्ध राख्न। तर कसैको नाम वा पेशा म भन्दिनँ। मलाई त केही फरक पर्दैन। उनीहरूको गोपनियताको म सम्मान गर्छु।'
 
लालायित कानहरु खिसि्रक्क परे।
 
त्यो घटनाको धेरैपछि विजयकुमार पाण्डेको खुसी पढें। समग्र किताबको समीक्षा म गर्दिनँ। 'सेक्स' शिर्षक अन्तर्गत पृष्ठ १७४ मा लेखिएको पंक्तिमा भने ध्यान गयो। जसमा कुनै उद्योगपतिले एक संचारकर्मी महिलासँग राखेको सम्बन्ध लिएर लगाएको धक्कु यसरी उल्लेख गरिएको छ, 'नेपालका गहन समाचारबारे बोल्दा मैयाको पोज टेलिभिजनमा कस्तो सिरियस देखिन्छ है। तर यसलाई म जुन जुन आसनमा देख्छु त्यस्को तिमीहरू कल्पना पनि गर्न सक्दैनौं।'
 
विजयकुमार पैसा तिरेर स्खलित हुन गएनन्। र पनि यौनकर्मीहरूको आत्मसम्मानलाई उचाइमा राखे। उनका प्रिय नेता कृष्णप्रसाद भट्टराई, कहिलेकहिले 'कलगर्ल' कहाँ पनि गए। यसकारणले पनि उनीप्रतिको विजयकुमारको सम्मान र आस्था डगमगाएन।
 
यति बुझेका विजयकुमारले बिर्से ती 'तथाकथित' मर्द उद्योगपतिको कुरा उल्लेख गर्दा आम नेपालीकोे कल्पनामा के दौडन्छ? उनले उल्लेख गरेको संचारमाध्यममा काम गर्ने समग्र महिला प्रतिको आत्मसम्मानलाई यसले कँहा पुर्‍याउँछ। आफूलाई लागेको बिचार नडराई राख्ने विजयकुरमारले किन भन्न सकेनन् धेरैसँग यौनकर्म गर्दैमा र त्यसको बिज्ञापन गर्दैमा मर्द भइँदैन, महासय। अरु नै केही भइन्छ।
 
किन साथ दिए ती महिलालाई गिराउने गरी बुझिने 'कनोटेसन' (ध्वनिमा)। भन्न सक्नुपर्थ्यो– गम्भीर विषयमा बहस चलाउनु, एनजिओमा काम गर्नु र मनपरेको व्यक्तिसँग यौनसम्बन्ध राख्नुलाई एउटै थालमा मुछ्न मिल्दैन।
 
विजयकुमारको संबेदनशीलता र दृष्टिकोणमा रत्तिभर शंका नभए पनि दिमागका गरिब र पैसाका धनी ती उद्योपति साथीलाई उनले यति पनि भन्न सकेनन्। भनेको भए पक्कै पनि उनले उल्लेख गर्थे होलान्।
 
उनले आफ्ना अर्का धनाढ्य साथीको 'मर्दपन'को पनि चर्चा गरेका छन्, जुसको उल्लेख पनि घिनलाग्दो छ।  धनाड्य महासयसँग उनकी यौनसाथी एकान्तमा खितखित खितखित गर्छिन रे। सहमति वा प्रेममा राखिएको सम्बन्धमा ती महिला नहासेर रुने त। उनकी यौन साथी हाँस्दा के उनी भजन गाएर बसे?
 
यी 'मर्द'हरूले आफ्नो सम्बन्धलाई त्यति गिराउँदा के उनीहरूको ब्यक्तित्व उचाइमा पुग्यो? महिला साथीहरू उनीहरूको दृष्टिमा यौन सम्बन्धकै कारण 'चरित्रहीन' थिए भने के उनीहरू मर्यादा पुरूषोत्तम राम भए त? समान हैसियतको आधारमा राखिएको सम्बन्धमा कि दुबै राम्रा र चरित्रवान थिए कि दुबै चरित्रहीन।
 
म चरित्रलाई यौन सम्बन्धको आधारमा ब्याख्या गर्दिनँ। वाणी र कर्मद्वारा जसले कसैको अहित गर्छ त्यो नै हो चरित्रहीन। आफ्ना यौन सम्बन्धलाई त्यति तल्लो स्तरमा झरेर ब्याख्या गर्ने जुन ब्यक्तिले उनका साथीहरूलाई परोक्ष रुपमा हानी गरे ती नै हुन चरित्रहीन। के थाहा ती महासयहरूले त्यति खिस्यारहँदा तिनका महिला साथीहरूले भने उल्टै उनीहरुलाई प्रेम गरिरहेका थिए कि?
 
अब पुरुष मात्र होइन महिला पनि उनीहरूका हाउभाउ र अभिव्यक्तिको आधारमा मूल्यांकन गर्न सिपालु भइसकेका छन्। यसका आधारमा उत्तम, मध्यम र निच पुरुष भन्न सक्ने हैसियत अब महिलाहरूले पनि राख्छन्।  
 
प्रसंगबश मैले कतै पढेका भारतीय गायक लकी अलीको अन्तर्वार्ता सम्झिएँ। उनले भनेका थिए, 'मैले जीवनमा तीनवटी केटीसँग प्रेम गरें। सबैलाई एउटै भावनात्मक उचाइमा राखेँ। र आफ्नो जीवनको अधिकारी ठानेँ। यति गर्न नसके मैले किन एक भन्दा बढीलाई प्रेम गर्ने।'
 
लकीको यो भनाइले थरिथरिका सम्बन्ध राख्दै हिड्ने र त्यसकै ठट्टामा उडाउनेलाई केही सिकाउला कि? हाम्रो समाजमा केटाहरूले जे सुनेर हुर्किए त्यसैले सामाजिक सोचलाई आकार दिएको छ। भनियो 'मर्दको छोरोले जतिवटी घुमायो उति मर्द हुँदै जान्छ।'
 
तर यो भन्न बिर्सियो, मर्द भनेको एक भन्दा बढीसँग यौनकर्म गर्नु मात्र होइन। आफ्नो सम्बन्धमा संबेदनशील र जिम्मेवार हुनु हो। आफ्नो सबन्धलाई आफूलाई जत्तिकै सम्मानमा राख्नु हो। तिम्रो ब्यक्तित्वमा यी गुण छैनन् भने तिमी मर्द त हुँदै होइनौं बरू एक अतृप्त आत्मा हौं। कोही अझै मर्द हुनुको त्रुटिपूर्ण ब्याख्यामा अल्झिरहेका छन् भने तिनीहरूको कल्याण होस्। अरुको अमंगल चिताउँदै गरिएको टिप्पणीले आफ्नै हित नगर्ने सामान्य ज्ञान छिटै प्राप्त होस्।  
भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget