news and more entertainment

तिमी को हो थाहा भएन, म चाहिँ नेपाली?

मह जोडी, राजेश हमालदेखि लेक्स लिम्बुसम्मका थुप्रै सेलिब्रेटीहरूको अभिनय रहेको समृद्धि राईको 'म चाहिँ नेपाली' म्युजिक भिडियो भर्खरै बाहिर आएको छ।
 
गीतले भन्छ, 'तिमी को हो थाहा भएन, म चाहिँ नेपाली।'
 
यो कस्तो खाले प्रश्न हो? म सोचमग्न भएँ।
 
कसलाई सोधेको होला?
 
नेपालमै जन्मेपछि नेपाली नभई म अर्को को हुन्छु होला? मलाई थाहा भएसम्म त कुनै नेपालीले आफ्नो नेपालीपनलाई अस्वीकार गरेको छैन, किन सोधेको होला?
 
गीतले अगाडि भन्छ,
 
को मतवाली को बाहुन क्षेत्री?
के हामी एकै होइनौं र?
त्यसैले जातभात छुट्याउनेलाई
तिमी यही भन्ने गर।
 
को आदिवासी, को जनजाति
के हामी एकै होइनौं र ?
त्यसैले जातभात छुट्याउनेलाई
तिमी यही भन्ने गर।
 
समृद्धिजीलाई सोध्न मन लागेर आयो, तपाईंका दाजुभाइ या दिदी बहिनी कसैले 'म चाहिँ .... राईको छोरा हुँ, तिमी को हो थाहा भएन' भन्यो भने, तपाईंलाई कस्तो अनुभव होला?
 
म बुझ्छु जातभात बारेको 'फ्रस्टेसन।' समृद्धिजीले पनि हामी बीचमा मेलमिलाप ल्याउने नै प्रयास गरेको हुनुपर्छ। तर मेलमिलापको नाममा अर्कालाई अपमानित गर्न खोज्नु राम्रो भएन।
 
फेसबुक र ट्वीटरमा मैले यो गीत पोष्ट गरेपछि धेरै खाले प्रतिकृयाहरू आए। त्यसमध्ये मैले यहाँ केही राखेको छु।
 
भानु बोखिम, 'राजनीतिक र साँस्कृतिक राष्ट्रियताको भेद नै नछुट्याई आफूमात्र देशभक्त हुँ भन्ने एउटा उपट्यांग गीत सुनेर हाँस उठ्यो।'
 
दोभान राई, 'कस्तो लाजमर्दो गीत हो यस्तो। जातभातको कुरा र जातीय पहिचानको आन्दोलनबीच फरक छुट्टाउनु नसक्नेहरूले 'तिमी को हौ थाहा भएन म चाहिँ नेपाली' भन्दै आफ्नो अज्ञानता देखाएको, निम्नकोटीको भिडियोसँग। फेरि त्यस्तोलाई आहा भनेर पछि लाग्नेको कमी पनि नभाको।'
 
हेमा राई, 'एकातिर नेपाल विविधताको देश भनेर गर्व गर्ने। अनि फेरि को आदिवासी को जनजाति थाहा छैन, सिर्फ नेपाली भनेर पनि भन्ने। कस्तो बिरोधाभास होला। विविधतालाई सम्मान गर्न सबैको छुट्टाछुट्टै पहिचानको पनि सम्मान गर्नु पर्यो नि? कि विविधता पनि एउटा सानो बक्सभित्रको लागि मात्र मान्ने हो? त्यसरी सोच्ने हो भने त म नेपाली नै हैन। यदि विचार मिल्ने थोरै मान्छेलाई मात्र नेपाली हुने अधिकार छ भने, म जस्तो फरक विचार भएको त त्यसभित्र अटाइँन नि!'
 
तपाईं हामीले बुझ्नु के जरूरी छ भने, मतवाली र बाहुनक्षेत्री एकै होइनन्। कहिल्यै थिएनन्, न कहिल्यै हुने नै छन। एउटाभन्दा अर्को राम्रो भन्ने पनि होइन।
 
मेरा एउटा भाइ (ईश्वर) र एउटी बहिनी (पुनम) छन्। एकै आमाका तीन जना सन्तान हामी त 'एकै' होइनौँ, एकै छैनौं। हुन पनि चाहँदैनौँ। हाम्रा बीच समानता छन्। हामीलाई माया गर्ने र हामीले आदर गर्ने बाबुआमा पनि एकै हुन्। परिआउँदा हामी एकजूट हुन्छौँ, हुनु पनि पर्छ। तर फेरि दोहोर्‍याउँछु, हामी एकै होइनौँ। हाम्रा अभिरूचि, व्यवहार र मूल्यप्रणाली समेत फरक छन्। हाम्रा बीच अनेक अन्तर भइकन पनि हामी एउटै घरमा बस्छौँ त। तर मैले दाजु भएका नाताले हेपेर वा उनीहरूले भाइबहिनी भएका कारण घुर्क्याएर एकअर्काको निजत्वमा प्रहार गर्न थाल्यौँ भने हाम्रा बीच परिआउँदा एक हुने सम्भावना पनि घटेर वा हराएर नै जानसक्छ। त्यसबेला बुवा-आमाले 'तँ व्यक्ति होस् कि मेरो छोरो होस्, टुङ्गो गर्' भन्न पाउनु हुन्छ? के ती दुईबीच छनौट हुन सक्छ?
 
जसरी हाम्रा हाम्रा बुवाका कारण म मेराभाइ बहिनीसँग जोडिएको छु त्यसरी नै तपाईँ हामीलाई नातामा जोड्ने हाम्रो देश नेपाल हो। हामी संसारको जुनसुकै कुनामा पुगौं, हामी दाजु-भाइ-बहिनीबीच जतिसुकै असहमति होस् वा हात हालाहाल नै किन नपरोस, हामी एउटै बाबुआमाको सन्तान हौं भन्ने सत्य फेरिंदैन। त्यसरी नै तपाईं र म एकैदेशमा जन्मेका हौं भन्ने कहिल्यै फेरिने छैन। जुन सत्य हो, त्यो दोहोर्‍याई तेहर्‍याई चर्कोसँग भनिरहनु भनेको त्यसमाथि अनावश्यक शंका उठाउन खोज्नु हो।
 
मधेस आन्दोलनताका हामीलाई पटक पटकसोध्ने गरिन्थ्यो, तँ पहिला मधेशी की नेपाली? बिबिसी नेपाली सेवा लगायत केही प्रतिष्ठित सञ्चारगृहले यस बारेमा बहस नै चलाए। त्यतिवेला कार्यक्रम प्रस्तोताहरू आफ्नो पाहुनालाई जबर्जस्ती नेपाली र मधेशी मध्य एक छान्न लगाउँथे! उनीहरूको आग्रह हुन्थ्यो 'म पहिला नेपाली' भन्नु पर्ने। सामाजिक संजालमा पनि अभियान नै चल्यो, 'म पहिला नेपाली' भन्ने। कतिले आफ्नो थर नै नेपाली बनाए।
 
कसैले मलाई तँ पहिला पुरूष कि मानव भन्ने प्रश्न सोध्यो भने मैले के जवाफ दिने? त्यस्तै होइन त्यो प्रश्न!
 
एकबेला थियो, मेरा दलित साथीहरू आफ्नो नामको पछाडि दर्जी, विश्वकर्मा, सार्की जस्ता थर लेखाउन चाहँदैन थिए। उनीहरू घिमिरे विश्वकर्मा हो भने, घिमिरे मात्र लेखाउन चाहन्थे। तर नागरिकता र अरू कानुनी कागजको त कुरा परै छाडौं, स्कुलले समेत उनीहरूलाई मन लागेको थर लेख्न दिएन। आज जब उनीहरू गर्वको साथ म दलित हुँ भनिरहेका छन। उनीहरूले जातको आधारमा आफूले पाउनु पर्ने अधिकार मागिरहेका छन। आफू विरूद्ध भएको अन्यायको क्षतिपूर्ति मागिरहेका छन्। यसबेला तपाईं हामीले कत्ति जातको कुरा गरेको भन्नु भनेको विवेकहीनता हो।
 
जातकै आधारमा भाडामा कोठा समेत नपाउने स्थिति अझै पनि छ। जातकै आधारमा नागरिकता जस्तो न्यूनतम हक पनि नपाइरहेको अवस्था छ। कानुन बनाउने ठाउँमा सबैको समान प्रतिनिधित्व हुन सकेको छैन। न्याय प्रणाली र राज्य सञ्चालनमा सबैको पहुँच छैन। आर्मी र पुलिसमा केही समुदायको मात्र बाहुल्य छ। अरू त अरू देशको मुख्य राजनितिक पार्टीको नेतृत्वमा समेत अबको वर्षौंसम्म खास एउटा जातिको मात्र बर्चस्व रहिरहने अवस्था छ। कसैले यसोभन्दा धेरैले दिने जवाफ पनि मलाई थाहा छ,'आए भयो नि तिमीहरू पनि!' र, यदि सोचिन्छ भने यो प्रश्न पनि गलत छ।
 
मिल्नुको विकल्प छैन, तर एक अर्काको अस्तित्वलाई स्वीकार र सम्मान गर्नुको पनि विकल्प छैन। आफ्नो जात, भाषा, संस्कृति भनेको पहिचान हो। खिचडी हो भने त्यो भात मात्र होइन, त्यो दाल मात्र पनि होइन। त्यसको पहिचान नै खिचडी हो। यति भइकन पनि, त्यहाँ मिसिएका दाल र चामलको रूप आकार त छुटिन्छ। हामी त मान्छे हौं।
 
हामीले एक अर्काको पहिचान स्वीकार गर्न सकेनौं भने, एक अर्कालाई समान व्यवहार गर्न सकेनौ भने, देशमा धेरै सिके राउतहरू जन्मिने छन। र, उनीहरू छुट्टै बस्ने चाहना व्यक्त गर्न थाल्नेछन्। देश झन अशान्तितिर धकेलिने छ।
 
सिके राउतहरूलाई पनि राम्ररी थाहा छ देश टुक्राएर अर्को देश बनाउन सकिंदैन। पहिलो कुरा हाम्रो राष्ट्रियता त्यति कमजोर छैन। दोश्रो कुरा, जनताले मान्ने छैनन्। तेश्रो कुरा, सबैले चाहे पनि छिमेकी भारतले दिंदैन। भारतको चिन्ता चीन हो। र, उसले नेपालको पहाड र हिमाललाई कुनै हालतमा दुखी बनाउन चाहने छैन। उसलाई एउटा सीमाना त घाँडो भइरहेको छ, अर्को थप्दैन।
 
देशको अखण्डताका बारेमा प्रश्न उठाउनु जायज होइन, तर राज्य र बहुमत समाजले गरेका धेरै नाजायज कामहरूको परिणामस्वरूप त्यस्तो प्रश्न उठेको छ भने त्यस प्रश्नलाई “अवैध, गैरसंवैधानिक प्रश्न” भनेका भरमा समाधान हुँदैन।
 
'आन्दोलन राजनीतिले रोक्न सक्छ संविधान वा कानुनले होइन। बहुदल र गणतन्त्रका लागि भिडदा हामीले पनि संविधानको हवाला दिनेलाई लोप्पा ख्वाएका थियौँ,' यो दाइ केदार शर्माले केही दिनअघि समाजिक संजालमा राखेको भानाइ हो। मान्छेका मनमा आएका प्रश्नहरूले जवाफ पाएनन् भने ऊ आफैं जवाफ दिने ठाँउमा पुग्न खोज्छ र आन्दोलन र क्रान्तिहरू हुन्छन्। कानून अनुसार क्रान्ति कहिँ र कहिल्यै पनि हुँदैन, कानून भने क्रान्तिका एजेण्डा अनुसार बन्छ।
 
समृद्धिजी, मेरो जवाफ सुन्नुहुन्छ? म नेपालमा जन्मे हुर्केकाले र संसारमा मेरो वैधता प्रमाणित गर्ने कागजपत्रहरूका कारणले नेपाली हुँ। पेशाका कारण फिल्ममेकर, लेखक हुँ। सप्तरीको मैथिल परिवारमा जन्मेका कारणले मधेशी हुँ। म अहिले अमेरिकामा बसेर नेपाली फिल्मको निर्माण र प्रवर्धनको काम गरिरहेको छु। राजनितिक हिसाबले लोकतन्त्रवादी हुँ। यी सबै जान्दाजान्दै पनि 'तिमी को हो थाहा भएन, म चाहिँ नेपाली' भनेर मलाई र्‍याख र्‍याख पार्नुहुन्छ भने म तपाईँको प्रश्नलाई असंवेदनशील, जनआन्दोलनको मर्म र अन्तरिम संविधानको भावना विपरित, सस्तो भावना भड्काएर लोकप्रिय हुन खोज्ने काम भन्छु। जवाफ दिनुहुन्छ?
भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget