news and more entertainment

अत्यधिक यौनचाहना स्वाभाविक हो ? कि समस्या हो !डा. राजेन्द्र भद्रा,

 दुई वर्षअघि हो देवीको विवाह भएको। देवी आफूले राम्रा श्रीमान् पाएको कुराले हर्षित थिइन्। विवाहको रमझमपछि बिस्तारै दैनिकी सामान्य कुरातर्फ फर्कियो।


सुरुको केही सातामै देवीले श्रीमान्मा अत्यधिक यौनचाहना रहेको थाहा पाइन्। सुरु-सुरुका दिनमा त यसलाई असामान्य ठान्ने कुनै आधार उनले भेटेकी थिइनन्।

यस्तो किसिमको अधिक यौनचाहना र अत्यधिक यौनक्रियाकलापमा संलग्न हुनुपर्ने बाध्यता देवीलाई असहज लाग्न थाल्यो। तर केही असहज लागे पनि श्रीमान्को चाहनालाई उनले पूरा गर्दै आएकी थिइन्। बेला-कुबेला श्रीमान्को यौनचाहना पूरा गर्नुपर्दा देवीलाई श्रीमान्सँगको आफ्नो यौनसम्पर्क नरमाइलो लाग्न थालिसकेको थियो। श्रीमान्सँग यसरी नियमित यौनक्रियाकलापमा संलग्न भएर यौन चरमसुख पाए पनि एक किसिमको असन्तोष मनमा थियो। श्रीमान्ले आफूलाई यौनवस्तुको रुपमा प्रयोग गर्ने गरेको अनुभूति उनलाई हुन थालेको थियो। बाहिर सामान्य र सुमधुर नै सम्बन्धजस्तो देखिए पनि आफू फगत यौनवस्तुको रुपमा प्रयोग हुन थालेको कुरा उनलाई अपच बन्दै गइरहेको थियो। यसले एक किसिमको क्रोध पनि मनमा उब्जाएको थियो।  श्रीमान्को यो अत्यधिक यौनचाहनालाई कसरी समाधान गर्न सकिएला भनेर उनी निकै सोचमा छिन्। कसैसँग खुलेर यस्ता समस्याको बारेमा कुरा गर्ने स्थिति पनि छैन। आफ्ना श्रीमान्लाई यसबारे राम्ररी सम्झाउने प्रयास नगरेकी पनि होइनन्। आफ्नो अथक प्रयासपछि पनि यस सम्बन्धलाई निरन्तरता दिन देवीलाई गाह्रो पर्दै गइरहेको छ। अब कसो गर्दा ठीक होला भन्ने सोचमा उनी डुबेकी छिन्। देवीको जस्तो समस्या अनेक महिलालाई परेको हुन सक्छ तर उनीहरू यसलाई राम्ररी व्यक्त गर्न सक्दैनन्। यसको समाधान खोज्न पनि सजिलो कुरा होइन। कतिपय व्यक्ति अत्यधिक यौनचाहनाबाट ग्रसित हुन्छन्। यस्तो किन हुन्छ त - पति-पत्नीभित्र हुने यस्ता व्यवहार बाहिर कसैलाई थाहा नै हुँदैन। 

असजिलो लागे पनि आफैं पिल्सिएर बस्नुपर्ने हुन्छ। यौनचाहना कम हुने समस्या र त्यसको समाधानका बारेमा निकै चर्चा हुने भए पनि यसको बारेमा तुलनात्मकरुपमा कम चर्चा हुने गर्छ। यस समस्याको विविध पक्षलाई गहिरोसँग बुझन अझै खोजमूलक अध्ययनहरूको आवश्यकता रहेको देखिन्छ।
< अधिक यौनचाहना पनि समस्या हो - 

यौनचाहना स्वाभाविक कुरा हो र यो मानवलगायत सबै प्राणीमा हुन्छ। यौनचाहना प्रबल भएको स्थितिमा पनि व्यक्तिले यसलाई एक हदसम्म नियन्त्रणमा राखेको हुन्छ। विशेष गरेर सामाजिक परिवेशमा यसका नियमहरू पालन गर्न र आफ्नो जीवनको अन्य पाटोमा नकारात्मक असर पर्न नदिईकन नियन्त्रणमा राखेको हुन्छ। यौनचाहना व्यक्तिअनुसार फरक पर्छ।

स्वाभाविक रुपमा नै कुनै व्यक्तिमा यौनचाहना बढी हुन्छ भने कसैमा कम। दम्पतीको बीचमा यौनचाहना र यौनक्रियाकलापमा संलग्न हुने कुरामा सामान्य परिधिभित्रै परे पनि तालमेल नमिले बढी वा कमजस्तो लाग्न सक्छ। कुनै व्यक्तिमा यति नै यौनचाहना हुनुपर्छ भन्ने छैन। हुन त अत्यधिक यौनचाहनाको समस्याले महिलालाई पनि नपिरोल्ने होइन तर यो 

तुलनात्मकरुपमा पुरुषमा बढी देखिएको पाइन्छ। हुनुपर्ने वा रुचाइएको भन्दा बढी यौनचाहना, कामावेग भएको स्थितिलाई अंग्रेजीमा एक्सेसिभ सेक्सुअल डिजायर (Excessive sexual desire)भएको भनिन्छ। यौनसम्बन्धी कुराको अत्यधिक आवश्यकता महसुस गर्छ र उग्र तवरले संलग्न हुन्छ भने उसको दैनिक कार्य र सामान्य सम्बन्धमा नै नकारात्मक असर पर्छ। यस्तो हुनु एक गम्भीर स्थिति हो र स्वास्थ्य विशेषज्ञहरूले विभिन्न नाम दिएका छन्।

कतिपयले यी शब्दहरूले फरक-फरक परिभाषा बताए पनि मूलभूतरुपमा यस्तो कम्पलसिभ सेक्सुअल बिहेभियर (Compulsive Sexual behaviour)लाई हाइपर सेक्सुआलिटी (Hypersexuality) भनिन्छ। कतिपयले यस्तो स्थितिलाई हाइपरएक्टिभ सेक्स(Hyperactive Sex), निम्फोमानिया (nymphomania)वा इरोटोमानिया (Erotomania)शब्दको प्रयोग पनि गर्छन्। पहिले-पहिले महिलामा निम्फोमानिया (nymphoamania) र पुरुषमा स्याटिरियासिस (Satyiasis) भनिने गरिएका यी स्थितिलाई अहिले हाइपरसेक्सुआलिटी (Hyper sexuality) शब्दले विस्थापित गर्न थालेको छ। कहीँ यस्तो स्थितिलाई सेक्सुअल एडिक्सन (Sexual Addication)अर्थात् यौनलत भन्ने पनि गरिएको छ। 

नाम जे भए पनि यस्तो स्थितिले व्यक्तिको दैनिक र सामाजिक जीवनलाई नै नकारात्मक असर पर्ने हुनाले चिकित्सकीय दृष्टिकोणले ध्यान दिनुपर्ने हुन्छ। कति यौनचाहनालाई चाहिँ बढी भन्ने कुरामा अझै पनि विवाद नै छ। एक व्यक्तिले सामान्य ठानेको यौनचाहनालाई अर्को व्यक्तिले कम वा बढी ठान्न सक्छ।

त्यसैले परिभाषित गर्न गाह्रो होला। तर कसैको दैनिक, सामाजिक जीवन नै बिग्रने वा तनावपूर्ण हुने गरेर यौनव्यवहार देखिन थालेको स्थितिमा भने यौनचाहना बढी भएको स्थिति भन्न सकिने कुरामा भने सबैजसो समहत देखिन्छन्।

साँच्चिकै यौनचाहना बढी हुँदा भने यसको उपचार गर्नुपर्छ। यससम्बन्धमा आएका अप्ठयारा यौन तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्ने हुन्छ। 

अधिक यौनचाहनाको कारण
< यस्तो किन हुन्छ त - यकिनका साथ भन्न सजिलो भने छैन। के-कति कारणले कुनै व्यक्तिमा अत्यधिक यौनइच्छा जागृत हुन्छ भन्ने कुराको निक्र्योल गर्न गाह्रो हुन्छ। यसको शारीरिक कारणबारे थोरै मात्र ज्ञान छ अर्थात् कमै मात्र शारीरिक कारण भेटिने गर्छन्। विशेष गरेर पुरुष हर्मोन अनि यसको साथै यससँग सम्बन्धित मस्तिष्कको कार्यप्रणालीमा भएको कुनै गडबडी नै यस्ता कुराका कारण हुने गर्दछन्। केही स्थितिमा यस्तो व्यवहार स्नायु प्रणालीसम्बन्धी विकारले पनि हुन सक्छ। अन्य कतिपय स्थितिमा कारण मनोवैज्ञानिक हुने गर्दछन्।  विशेष गरेर म्यानिक डिसअडर (Manic Disorder)भएका व्यक्तिमा यस्तो अत्यधिक यौनेच्छा हुने देखिएको पनि छ। धेरै विशेषज्ञहरूले यौनव्यवहारमा अब्सेसन (Obsession)वा कम्पल्सन (Compulsion)हुनु एक किसिमको मनोरोग मानेका छन्। यस किमिसमको यौनव्यवहार व्यक्तिको आफ्नो मूड वा पर्सनालिटी डिसअर्डर Personality disorder)वा अन्य भावनात्मक समस्यालाई सामना गर्ने संयन्त्र हो पनि भन्ने गरिन्छ।  विशेष गरेर भत्किएका परिवारमा हुर्केको वा यौन, भावनात्मक वा शारीरिक रुपमा शोषित भएर हुर्किएको व्यक्ति भए यौनसम्बन्धी कुरामा अस्वस्थकर धारणाको विकास भएको हुन सक्छ। जीवनका सुरुका यी आघातपूर्ण अनुभवले आफूलाई लाजमर्दो वा महत्त्वहीन अनुभव गर्न सक्छ, जसले गर्दा उनीहरूले सामान्य र स्वस्थरुपमा यौनभावना वा आत्मीयतालाई व्यक्त गर्न सक्दैनन्। यस्तो कम्पल्सिभ(Compulsive) यौनक्रियाकलापमा संलग्न व्यक्तिमध्ये धेरैजसोमा यौन वा शारीरिक शोषण भएको भेटिएको छ। एकांकीपन अनि उदासीपनलाई पूरा गर्न पनि व्यक्ति यस्तो नगरी नहुने स्थितिमा पुग्ने गरी यौनक्रियाकलापमा लाग्न सक्छ, तर यस्ता समाधान छोटो समयको लागि हुने र पछि अझै बढी मात्रामा नकारात्मक भावनाको सामाना गर्नुपर्ने हुन्छ। समाधानका उपाय

यो समस्या परे पनि कुनै एक व्यक्ति सजिलै समाधानको उपाय खोज्नतिर लाग्न सक्दैन। कतिपयलाई यसको समाधान होला कि नहोला भन्ने कुरा पनि स्पष्ट जानकारी नहुँदा अलमल हुन सक्छन्। अर्को कुरा अब समाधानको उपायको लागि सहयोग नखोजी नहुने स्थितिमा पुगिएछ भन्ने स्थितिको ज्ञान नहुँदा अझै ढिलाइ हुन सक्छ। कतिपय व्यक्तिले केही हदमा समस्या परेको थाहा पाए पनि यस्ता व्यवहारले उसलाई आनन्द दिने हुनाले यसलाई रोक्नको लागि कुनै किसिमको उपचारको खोजी गर्दैन।

यो भन्दा पनि महत्त्वपूर्ण कुरा के भने लज्जा, भय र असजिलोपनको कारणले समाधानको लागि पहल नगर्न सक्छ।

यस्तो यौनक्रियाकलापमा संलग्न नभई नहुने बाध्यात्मक स्थितिको अनुभव व्यक्तिले गर्न थालेपछि विशेषज्ञको सहयोगको आवश्यकता पर्दछ।

यस्तो अवस्थामा आइपुगेपछि उसले गर्ने आत्मनियन्त्रणका प्रयासहरू प्रायजसो सफल हुँदैनन्, किनकि यो स्थिति नै व्यक्तिको नियन्त्रण गर्न सकिने स्थितिभन्दा बाहिरको स्थिति हुन सक्छ। बानी-व्यहोरालाई नै परिवर्तन गर्ने विधिहरू पनि फाइदाजनक हुन्छन्।
अर्को महत्त्वपूर्ण कुरा अत्यधिक यौनचाहनाको कारणले समस्याग्रस्त व्यक्ति वा उसका नजिकका अन्य व्यक्तिलाई कष्ट भएको स्थिति भएमा उपचारको खोजी गर्नुपर्छ। यो कसरी थाहा पाउने भन्ने कुरा गाह्रो छैन।  आफूले चाहेर पनि आफ्नो यौनव्यवहारलाई नियन्त्रण गर्न नसक्ने भएमा वा यस व्यवहारले परिवार वा साथीसंगीको सम्बन्धलाई नकारात्मक प्रभाव पार्न थालेमा वा कार्यालय वा व्यवसायको काम वा दैनिकी नै प्रभावित भएमा वा जहिले पनि विशेष गरेर आफूले नचाहेको बेलामा पनि यौनसम्बन्धी कुरा मात्रै दिमागमा निरन्तररुपमा आउने गरिरहेको छ भने विशेषज्ञको सहयोग नलिई नहुने भएछ भनेर बुझनुपर्छ।  यसको उपचार, पारिवारिक -विशेष गरेर यौनसाथी वा श्रीमतीसँग), साइकोथेरापी (Psychotherapy)वा औषधिको प्रयोगबाट गर्न सकिन्छ। केही मनस्थितिसम्बन्धी खराबीमा औषधि दिन सकिन्छ। धेरैजसो स्थितिमा यसको मानसिक उपचार नै एक महत्त्वपूर्ण पक्ष हो। 

व्यक्तिगत वा समूहगतरुपमा गरिने यस्तो उपचार विधिले धेरै व्यक्तिलाई आफ्ना यौन अब्सेसन) Obsessionलाई केही हदमा नियन्त्रण गर्न सहयोग गर्छ। प्रेममय सम्बन्धको भागको रुपमा यौनलाई लिन सिकाइन्छ। अन्तरव्यक्ति सम्बन्ध र अन्य कुरालाई यौनदेखि केही फरक राखेर समस्यालाई सामना गर्न सिकाइन्छ। चिकित्सकले धेरैजसो स्थितिमा अस्पतालमा भर्ना नै नगरी उपचार गर्न सक्छन्।

वैवाहिक परामर्श अर्को महत्त्वपूर्ण कुरा हो। यौनसाथी वा श्रीमान्-श्रीमतीको सम्बन्धमा आएको समस्यालाई कम गर्न वा सामञ्जस्यता ल्याउन वैवाहिक परामर्शको आवश्यकता पर्दछ। यौनसम्बन्धी समस्यालाई कम गर्न नेपालमा स्वःसहयोग समूह बनाई एक-आपसलाई सहयोग गर्ने चलन खासै चलेको छैन। तर यस्ता कुरा निकै सहयोगी हुन्छन्।

त्यसदेखि बाहेक चिकित्सकले अवस्था हेरी विभिन्न औषधिको प्रयोग गर्न सक्छन्। चिन्ता र उदासीपन हटाउन वा कम गर्न औषधि दिन सक्छन्। यौनचाहनालाई कम गर्ने यस्ता औषधिका ँकु असर’ यस परिस्थितिमा लाभदायक नै हुन्छ।

लागूऔषध वा मद्यपानको लत लागेका व्यक्तिलाई सो पदार्थको ँरमाइलोपन’ रोक्ने औषधि पनि यसका लागि प्रभावकारी हुन सक्ने सम्भावना पनि देखिंदै छ।

हामीलाई थाहै छ, टेस्टेस्टेरोन नामको पुरुष हर्मोन नै यौनेच्छालाई निर्देशित गर्ने प्रमुख तत्त्व मानिन्छ।

कतिपय स्थितिमा विशेष गरेर पुरुष हर्मोनको मात्रा बढी हुनु कारण हुन सक्छ, त्यसको कार्यलाई रोक्ने किसिमका औषधि दिन सकिन्छ। अर्को पक्ष हेर्ने हो भने सैद्धान्तिक हिसाबले मुख्यरुपमा पुरुष हर्मोन उत्पादन गर्ने अंग अर्थात् अण्डकोष निकाल्नु एक उपाय भए पनि सामाजिक रुपमा यसलाई मिल्दो मानिन्न।
उपचारको आवश्यकता कतिपय व्यक्तिले आफूलाई समस्या परे पनि उपचार गर्ने कुरामा अग्रसरता नदेखाउन सक्छन्। तर समयमै उपचार गर्नु आवश्यक छ। किनकि यसका अनेक नकारात्मक असरहरू पर्न सक्छन्, जसमध्ये केही त गम्भीर प्रकृतिका पनि हुन सक्छन्। 
•श्रीमती -श्रीमान्) वा आफ्नो यौनसाथीसँग अस्वाभाविक रुपमा यौनक्रियाकलापमा संलग्न हुने अपेक्षा राख्नु वा उनलाई बेवस्ता गर्नु वा धोखा दिनुले एक-आपसको वैवाहिक तथा आत्मीय सम्बन्धलाई नै खत्तम पार्न सक्छ।
•यौनसम्बन्धी आफ्नो अत्यधिक चाहना पूरा गर्न देहव्यापार, अश्लील सामग्रीमा गरिएका अनियन्त्रित खर्चले कंगाल नै बनाउन सक्छ। 
•एचआईभी तथा अन्य यौनरोगको संक्रमण आफूलाई सर्ने र यौनसाथीलाई सार्ने सम्भावना पनि हुन्छ।
•देहव्यापारमा संलग्न भएकोले होस् वा सार्वजनिक स्थानमा यौनांग वा अन्य क्रियाकलापको प्रदर्शनले होस्, विभिन्न दोषपूर्ण यौनव्यवहारको कारणले गिरफ्तार हुनुपर्ने वा समाजमा लज्जाजनक स्थिति आउन सक्छ। 
•जीविकोपार्जनको लागि संलग्न कार्य वा व्यवसायमा मन नजाने हुँदा जागिर नै जाने वा व्यवसाय नचल्ने हुन्छ।
•आफूले नचाहीकनै पनि गर्भ रहन सक्छ र त्यसैसँग जोडिएर आउने अन्य समस्यालाई पनि झेल्नुपर्ने हुन्छ। त्यसमा पनि वैवाहिकभन्दा बाहिरको सम्बन्धबाट गर्भ रहेको छ भने समस्या झनै जटिल हुन्छ।
•लागूऔषध वा मद्यपानको लत लाग्ने गरेर संलग्नता हुने सम्भावना रहन्छ।
•सामाजिक रुपमा अमान्य वा अस्वीकार्य व्यवहारलाई नियन्त्रण गर्न नसक्नुको कारणले हुने ग्लानि र लज्जाको कारणले अन्य व्यक्तिसँगका सामान्य सम्बन्धलाई नकारात्मक असर पर्न सक्छ। त्यसैले समयमै उपचारको जरुरत पर्छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget