news and more entertainment

आफन्तबाटै बारम्बार बलात्कृत हुँदै आएकी किशोरीको घटना लुकाउन भोज


असार १५ नेपालगञ्ज ,बाँकेको बिनौना गाबिसमा बलात्कारको गम्भीर घटना लुकाउन सामूहिक भोज गरिएको खुलासा भएको छ । आफन्तबाटै बारम्बार बलात्कृत हुँदै आएकी एक किशोरीको घटना लुकाउन भोज गरिएको हो ।
१६ वर्षिया किशोरी ४ महिनाको गर्भवती भएपछि मात्रै घटना बाहिर आएको थियो । घटना लुकाउन आरोपी, पीडित परिवार, राजनीतिक दलका स्थानीय प्रतिनिधि, सामाजिक अगुवा लगायतका ब्यक्तिहरु भोजमा सहभागी छन् ।
घटनाबाट स्तब्ध भएका स्थानीय युवाक्लबका सदस्यहरुले दैनिक नेपालगन्जलाई दिएको जानकारी अनुसार, गाउँमा भएको बलात्कार गम्भीर घटना लुकाउन प्रहरीबाट समेत सहयोग भएको छ । उनीहरुले बलात्कारमा संलग्न ब्यक्तिको सम्पूर्ण खर्चमा गरिएको भोज बारे तैं चुप मैं चुप गर्न कसम खाएका पनि खुलासा गरे ।
इलाका प्रहरी कार्यालय बैजापुरले घटनाको जानकारी समयमै पाएको छ । क्लबका सदस्यहरुले टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराएपनि आवश्यक अनुसन्धान प्रक्रिया अघि नबढाएको बताए ।
बलात्कारकी पीडित किशोरीको जबरजस्ती विहे गराइएपछि घटनाको अनुसन्धानबाट प्रहरी पछाडि सरेको हो । पीडितको दोब्बर उमेर भएका संग विहे गराइएको छ । घटना पछि किशोरी अझै उच्च तनावमा रहेको सहपाठीहरु बताउँछन् ।
स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययन गर्दै आएकी पीडित किशोरी विगत ६ महिना देखि विद्यालय जान समेत छाडेकी थिइन् । बलात्कारको आरोपीले किशोरीलाई ज्यान मार्ने धम्की दिएका कारण घटनाको खुलासा नगरेको पीडितको भनाइ छ ।
घटना लुकाउन बारम्बार किशोरीको गर्भपतनको प्रयास गरिएको पनि
उनले खुलाएकी छन् । गर्भ ४ महिनाको भएका कारण सो प्रयास सफल हुन सकेन । त्यसपछि घटना लुकाउन दोब्बर उमेरको पुरुष संग विवाह गरिएको स्थानीय एक युवाले बताए । घटना बारे गाउँका कोही पनि खुलेर बोल्न तयार छैनन् । घटना लुकाउन स्थानीय माओवादी नेता नै सक्रिय भएकाले सबै आतंकित बनेका हुन् ।
इलाका प्रहरी कार्यालय बैजापुरका इन्चार्ज देविलाल घर्तीमगरले घटना बारे लिखित उजुरी नपरेका कारण अनुसन्धान अघि नबढाएको बताए । उनले घटना बारे जानकारी पाएको र जिल्ला प्रहरी कार्यालय बाँकेलाई समेत जानकारी गराइएको स्पष्ट पारे । घटना पछि पीडितको विहे भएको जानकारी जिल्लालाई गराइएको इप्रका इन्चार्ज घर्तीमगरले बताए । उनले टेलिफोन मार्फत आएको सूचनाको आधारमा पनि अनुसन्धान गरि घटना बारे जानकारी लिइएको बताउँदै बैवाहिक जीवन बिथोलिने खतराका कारण कारवाही नगरिएको पनि दाबी गरे ।
घटना बारे आफुलाई कुनै जानकारी नभएको बाँके प्रहरीका डीएसपी सुशील सिंह राठौरले बताएका छन् । इलाकाले भने जिल्लाकै रायमा अनुसन्धान अगाडी नबढाएको दाबी गरेको छ । राठौरले घटना बारे कुनै किसिमको उजुरी नआएको बताए ।
मुुलुकी ऐन जबरजस्तीकरणी महलमा भएको ब्यवस्था अनुसार पीडितको उजुरी नपरेपनि जानकारी वा सामान्य सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्न सक्ने कानूनी प्रावधान रहेको अधिवक्ता विजय कुमार शर्माले बताए । जबरजस्ती करणी फौजदारी अभियोग अन्तर्गत पर्ने भएकोले वादी नेपाल सरकार भएर आवश्यक अनुसन्धान र कारवाही प्रक्रिया अगाडी बढाउन सकिन्छ अधिवक्ता शर्माले भने । via - nepalgunjnews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget