१० असार, काठमाडौं । होस्टेलमा बस्ने छात्रामाथि यौन शोषण गरेको आरोपमा
काठमाडौंको बौद्ध तीनचुलीस्थित एक तिब्बती स्कूलका प्रिन्सिपल पक्राउ परेका
छन् । तीनचुलीस्थित श्र्रोङचेन भकृटी आवासीय स्कूलका प्रिन्सिपल महेश
थापालाई बौद्ध प्रहरीले पक्राउ गरेको हो ।
स्कूलको होस्टेलमा बस्ने कक्षा ८, ९ र १० का केही छात्राले आफूहरुमाथि यौन
शोषणा भएको मौखिक उजुरी दिएका आधारमा थापालाई पक्राउ गरिएको प्रहरी
निरीक्षक दामोदर दवाडीले बताए । ‘मौखिक उजुरीका आधारमा पक्राउ गरिएको छ,
सायद लिखित जाहेरी पनि आउला’ उनले भने ‘छात्राले लगाएको आरोप सत्य हो वा
होइन भन्ने बारेमा अनुसन्धान हुँदैछ’ ।
तिब्बती स्कूलमा पढ्ने विद्यार्थीहरु देशका बिभिन्न जिल्लाबाट आएका छन् ।
उनीहरुलाई बिभिन्न देशका नागरिकले स्पोन्सर गरेर छात्रवृत्तिमा पढाइरहेको र
ती छात्राहरु होस्टेलमा बस्ने गरेको बताइएको छ । ती छात्राले आफूहरुमाथि
यौनजन्य हिंसा भएको गुनासो सबैभन्दा पहिले होस्ल वार्डेन टिब्बती मूलकै
धिमेलाई गराएका थिए ।
‘हेडसरले बारम्बार दुख दिने गरेको छात्राहरुको आरोप छ’ एक अभिभावकले भने
‘अति भएपछि उनीहरुले सार्वजनिक गरेका हुन्’ । तर, प्रहरीले भने यो
आरोपभित्र सत्यता छ वा छैन भन्ने पुष्टि गर्न सकेको छैन । पछिल्लो समयमा
कतिपय घटनामा व्यक्तिको चरित्र हत्या गर्न रिस उठेको व्यक्तिलाई यौन
हिंसाको आरोप लगाउने प्रचलन समेत बढेकाले संवेदशील भएर आरोपको अनुसन्धान
भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

Post a Comment