न्यूयोर्क, असार १० ९ सेतो कुर्ता–पाइजामा पहिरिएका प्रधानमन्त्री सुशील
कोइरालाको मलिन अनुहार पर्याप्त थियो उनको अस्वस्थता दर्शाउन । गत शुक्रबार
‘बायोस्पी’ लगायत अन्य परिक्षणहरुपछि त ७५ वर्षीय कोइराला झनै थकित
देखिन्थे । उनका अंगरक्षक धेरै कुराकानी नगर्न ईशारा गर्दै थिए । ‘कस्तो छ
तपाईको स्वास्थ्य स्थिति रु’ भन्ने शुरुवाती प्रश्नमा कोइरालाले भने,
‘हेल्थबारे सबै कुरा बाहिर आइसकेको छ । देशको राजनीतिबारे सोध्नुस् । मेरो
स्वास्थ्यको चिन्ता छैन, देशको स्वास्थ्यको चिन्ता छ ।’
अमेरिकास्थित नेपाली पत्रकारहरुसँगको भेटमा आइतबार कोइरालाले स्वास्थ्यबारे
बोल्न अनिच्छा जनाउँदा जनाउँदै अघिल्लो रात लगातार खोकी लागेर सुत्न
गाह्रो भएको भने बताए । रगत तानिएको दाहिने हातको नाडीको रातो डाम देखाउँदै
भने, ‘डाक्टरले परिक्षण गरिरहेका छन्, रिपोर्ट केही दिनमा आउँछ ।’
आफनो स्वास्थ्य स्थितिले सरकारको कामकारवाहीमा फरक नपारेको कोइरालाको भनाइ
थियो । उनको कथन थियो, ‘सरकार चलिरहेको छ । चल्छ । बामदेवजी हुनुहुन्छ ।’
मेलमिलाप र सहमतिको राजनीतिको विकल्प नभएको तर्क गरेका प्रधानमन्त्रीले
धेरै संघीय राज्य मुलुकले धान्न नसक्ने धारणा राखे । ‘पहिले हामीले पाँच
प्रदेश भन्यौं । अहिले एमाले र हामीबीच सातवटामा एकखाले सहमती भएको छ’,
उनले भने ।
यद्यपि, कोइरालाले संघीयतासम्बन्धी बिषयलाई कसरी टुङ्गयाउने भन्नेबारे
सहमतिबाट उपाय खोजिने बताए । एक अर्को प्रश्नमा उनले विवादित बिषयमा सहमती
नभए मतदानबाट भए पनि संविधान निर्माणको बाटो खोलिने प्रतिबद्वता जनाए ।
उनले भने, ‘शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान, विकास
मेरा प्राथमिकता हुन्, यसमा कम्प्रमाइज हुँदैन ।’आजको कान्तिपुर दैनिकमा
खबर छ ।

Post a Comment