news and more entertainment

दाइजो नल्याएको भन्दै पति र देवरबाटै बलात्कार


हेटौंडा : जीवनभर सुखदु:खमा साथ दिने बाचा गरेर वैवाहिक सम्बन्ध कायम राखेकी एक महिलाले आफ्नै परिवारबाट चरम यातना भोग्नुपरेको छ। आफ्नै पतिबाट यस्तो धोका होला भन्ने कल्पनासमेत नगरेकी ती महिलालाई दाइजो कम भएको भन्दै चरम यातना दिइएको हो।
रमा (परिवर्तित नाम) ले विवाहबन्धनमा बाँधिएको एक महिनामै मरणासन्न हुने गरी यातना भोगेर अस्पताल भर्ना हुनुपर्यो। विवाहको केही दिनदेखि नै दाइजो कम भएको बहानामा घरेलु हिंसा भोगेकी रमा अहिले अस्पतालको शय्यामा छिन् भने उनका पति सन्तोष उपाध्याय प्रहरी हिरासतमा छन्। हेटौंडा ९ की रमा र हेटौंडा ८ का सन्तोषबीच २०७१ साल वैशाख १८ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो।
मानसिक तथा शारीरिक यातना दिँदै आएका पति, देवर सुमन र पतिकी काकी भगवती देवीले आफूलाई गत शनिबार राति ९ बजे जबर्जस्ती नाम थाहा नभएको औषधि खुवाएको रमाले बताइन्। ग्यास्टिकको औषधि हो, पेट दुखेको निको हुन्छ भन्दै परिवारका सबै सदस्य मिलेर जबर्जस्ती खुवाएपछि रिँगटा लागेको उनले बताइन्। रमाले आफन्तको सहयोगमा बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दायर गरेपछि घटना सार्वजनिक भएको हो।
प्रहरीमा दिएको उजुरीमा औषधि खुवाएपछि पतिले यौनसम्पर्क राख्न खोजेको र बिरामी छु भन्दा पनि जबर्जस्ती गरेको पीडितले उल्लेख गरेकी छन्। ग्यास्टिकको औषधि भनेर दिइएको ट्याब्लेटले लठ्ठाएपछि पति र देवरले पालैपालो जबर्जस्ती करणी गरेको रमाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। बलात्कारपछि अचेत अवस्थामा पतिले माइतीमा लगेर छाडिदिएको उनको निवेदनमा उल्लेख छ। हिमराइट्स, नारी सीप सिर्जना केन्द्र, माइती नेपाललगायत संघसंस्थाले रमाको उद्धार गरेका हुन्।
माइती पक्षले घटनाका बारेमा मानवअधिकार तथा महिलाअधिकारवादीलाई खबर गरेपछि घटना प्रहरीमा पुगेको हो। उजुरीका आधारमा रमाका पति, देवर र काकी तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक गणेशबहादुर एरले बताए। पीडितले सामूहिक बलात्कार गरेको भन्दै कारबाहीको माग गरेर उजुरी दर्ता गराएको जानकारी प्रहरी उपरीक्षक एरले दिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget