news and more entertainment

वीर्य स्खलन कति समयमा हुन्छ त ?-डा. राजेन्द्र भद्रा

कैयौं पुरुषले आफ्नो यौन जीवनमा शीघ्र स्खलनको समस्या भोगेका हुन्छन् । यस्तो समस्या परेपछि चासो र चिन्ता हुन्छ नै । यस्ता समस्या बारम्बार हुन थालेमा यौन तथा पारिवारिक जीवनमै नकारात्मक असर पर्न सक्छ भन्ने चिन्ता स्वभाविक रूपमा आउँछ । शीघ्र स्खलन किन हुन्छ वा कसरी यसलाई कम गर्न सकिएला भन्ने बारे धेरैलाई पर्याप्त जानकारी नरहेको पाइन्छ । शीघ्र स्खलन बारे कुरा गर्नुभन्दा पहिले वीर्य स्खलन बारे जानकारी राख्नु आवश्यक छ ।
मानव यौन प्रतिक्रिया चक्रको कुरा गर्दा हामीहरू मुख्यतया चार चरणबाट गुज्रन्छौँ ।  सुरुको चरणलाई उत्तेजनाको चरण भनिन्छ र यौन उत्तेजनाले निरन्तरता पाएमा हामी अर्को चरणमा पुग्छौं, जसलाई ‘प्लेटो’ चरण भनिन्छ । यस अवस्थामा पनि यौन उत्तेजनाले निरन्तरता पाइरहेमा हामी छोटो भए पनि एक विशेष तथा महत्वपूर्ण चरणमा पुग्छौँ, जसलाई ‘चरमसुख’ भनिन्छ । यसैबेला नै वीर्य स्खलन पनि हुने गर्दछ । यसपछि ‘रिजोलुसन’को चरण आउँछ, जसलाई हामी सामान्य अवस्थाका रूपमा बुझ्दछौँ ।

‘किन्से’ले गरेको अध्ययनले योनीमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको कुरा देखाएको थियो । अर्को एक अध्ययनमा सालाखाला समय तीन मिनेट रहेको देखिएको थियो । किन्सेले महिलालाई चरमसुखको स्थितिसम्म पुग्न यस्तै ४ मिनेट लाग्ने उल्लेख गरेका छन् भने केही अध्ययनहरूले पुरुषको तुलनामा महिलालाई चरमसुख पाउन यस्तै ५ मिनेट जति बढी समय लाग्ने जनाएका छन् ।

खास शीघ्र स्खलन के हो ?

प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै न कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन्  । शीघ्र स्खलनको समस्या पुरुषहरूमा देखिने यौन सम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो ।
सामान्य रूपमा भन्नुपर्दा, वीर्य स्खलन चाँडो हुनुलाई नै शीघ्रपतन भनिन्छ । शीघ्र स्खललाई कसरी परिभाषित गर्ने भन्ने बारे वैज्ञानिकहरूबीच निकै बहस चलेको पाइन्छ । लिङ्गलाई योनीमा पसाएको ३० 
सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा पाँचदेखि १० धक्कामा नै वीर्य स्खलन भएमा छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए । तर, अहिले यो सोचाइमा परिवर्तन आउन थालेको छ ।
कम्तिमा दुई वर्ष विवाहित जीवन बिताइसकेका पुरुषहरू सम्मिलित एक अध्ययनले के देखायो भने, स्वस्थ व्यक्तिको सालाखाला ३ दशमलब १ मिनेटमा वीर्य स्खलन भएको थियो भने छिटो वीर्य स्खलन भयो भनेर ठान्ने व्यक्तिहरूको २ दशमलब ३२ मिनेटमा । कतिपय सामान्य वीर्य स्खलन भएका व्यक्तिले पनि आफ्नो वीर्य स्खलन छिटो भएको ठानेका थिए भने कतिपयले सोभन्दा कम समयमै वीर्य स्खलन हुने भए पनि छिटो वीर्य स्खलन भएको नठानी सामान्य नै ठानेका थिए । त्यसैले होला शीघ्र स्खलनलाई कसरी परिभाषित गर्ने भन्ने सोचमा परिवर्तन आएको छ । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्य स्खलन भएमा त्यसलाई छिटो वीर्य स्खलन अर्थात् शीघ्र स्खलन भएको स्थिति मान्न थालिएको छ ।

शीघ्र स्खलनको कारण के हो ?

एकथरी पुरुषहरूमा यो समस्या सुरुदेखि नै अर्थात् किशोरवयदेखि रहेको हुन्छ । अर्काथरीमा पहिले वीर्य स्खलन ठिकै समयमा हुने गरेको भए पनि पछि मात्र शीघ्र स्खलनको समस्या देखिएको हुन्छ । यो समस्या कुनै शारीरिक बिमारीका कारणले हुँदैन । र, कुनै रसायनको प्रयोगसँग पनि यो सम्बन्धित हुँदैन ।
महिलालाई चरमसुखको स्थितिसम्म पुग्न एकदमै समय लाग्ने तथ्यमा आधारित रहँदा कतिपय अवस्थामा पुरुषले शीघ्र पतनको अनुभव गरेका हुन पनि सक्छन् । यो कुरा पनि बिर्सनु हुन्न कि, केही महिला योनी मैथुनबाट चरमसुखको स्थितिसम्म नपुग्ने पनि हुन सक्छन् । वीर्य स्खलनभन्दा पहिले आउने रसलाई वीर्य निस्केको ठान्ने स्थिति पनि रहने गरेको हुनाले त्यसमा पनि विचार गर्नुपर्ने हुन्छ । कतिपयले यौन चलचित्रमा देखाइएका कुरालाई आफूसँग दाँज्ने गर्दछन् र आफ्नो वीर्य चाँडो स्खलन भएको ठान्न सक्छन् । चलचित्रमा अस्वाभाविक रूपमा घन्टौँ यौन सम्पर्कमा संलग्न भएजस्तो देखाइको हुन सक्छ ।

शीघ्र स्खलनको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले यो समस्याको मूल कारण मानसिक सोचाइ नै हो भन्न सकिन्छ । शीघ्र स्खलन हुनुले पुरुषको प्रजनन प्रणाली वा स्नायु प्रणालीमा शारीरिक रूपमा कुनै खराबी भएको अर्थ लगाउने वैज्ञानिक आधार छैन ।
कतिपय मानिसलाई यौन सम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु चिन्ताको कारण हुन सक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिन कि भन्ने चिन्ता नै यस्तो समस्याको कारक हुने गर्दछ ।
केही अनुसन्धानकर्ताले प्रजनन अङ्ग सञ्चालनसँग सम्बन्धित स्नायुका कार्य प्रणाली र हर्मोनको मात्रासँग पनि यो विषयलाई जोडेर हेरेका छन् । अझै रोचक कुरा त के छ भने, कसैकसैले विकासवादको सिद्धान्तसँग पनि जोडेका छन् । विकासको क्रममा शीघ्र स्खलन गर्न सक्ने पुरुषहरूले नै बढीभन्दा बढी महिलालाई गर्भधारण गराउन सक्ने भएको र मानव विकास इतिहासको हजारौँ वर्षमा यस्ता पुरुषको बृद्धि भएको उनीहरूको तर्क छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget