news and more entertainment

वीर्यको एलर्जीले निम्त्याउने समस्या

 म २२ वर्षीया विवाहित महिला हुँ । हामी श्रीमान्–श्रीमतीबीच नियमितरुपमै  यौनसम्पर्क हुने गरेको छ । हामी दुवैको यसमा रुचि छ । मलाई पनि यौन उत्तेजना राम्रै हुन्छ र आनन्दमयी लाग्छ । विवाह भएदेखि यस्तै दुई महिनाअघिसम्म गर्भनिरोधको लागि कन्डमको प्रयोग गरिरहेका थियौं । अब सन्तानको रहर भएकाले कन्डम प्रयोग गर्न छोडेका छौं । तर मैले एक अनौठो समस्याले सताएको अनुभव गरेकी छु । यौनसम्पर्कको दौरानमा उहाँको वीर्य मेरो योनिमा स्खलन भएपछि योनि एकदम पोल्छ । कन्डम लगाउन छोडेपछि यस्तो समस्या भएको हो । यौनरोग हो कि भन्ने शंका लागेको छ, तर हामी दुवैलाई त्यस्तो कुनै लक्षण छैन । यौनसम्पर्क नगरेको बेलामा भने त्यस्तो केही हुँदैन । अर्को कुरा, यौनसम्पर्कपछि कतिपल्ट मलाई शरीरमा डाबर आउने गर्छ र कहिलेकाँही रुघा लागेजस्तै नाकबाट पानी बग्ने गर्छ । यो कस्तो रोग हो ? यसकै कारणले कतै सन्तान जन्माउने कुरामा समस्या त पर्ने होइन ? समाधान कसरी गर्न सकिन्छ ? उचित सल्लाहको अपेक्षामा छु । – राधिका, काठमाडौं


यौनसम्पर्कमा असहज पीडा

हामीलाई थाहै छ, यौनसम्पर्क एक आनन्ददायी क्रियाकलाप हो । यौनसम्पर्कबाट नै शायद मानवले प्राप्त गर्न सक्नेमध्येको चरम आनन्द प्राप्त गर्न सकिन्छ । असीम आनन्द, चरमसुख, स्वर्गीय आनन्दजस्ता कतिपय नामहरू पनि यौनसम्पर्कको यस आनन्दसँग जोडिएका छन् । तर सबै यौनसम्पर्क सुखमय नहुन सक्छ । यौनसम्पर्क किन शारीरिक रुपमा पीडायुक्त हुन्छ त ? त्यसको बारेमा केही कुरा गरौं ।

योनि सुक्खा भएको स्थितिमा यौनसम्पर्क गर्दा पनि पीडायुक्त हुन्छ  र यौनसम्पर्कपछि पोल्ने हुन सक्छ । तपाईंको पत्रमा पर्याप्त जानकारी नभएको हुनाले यसै भन्न सकिने स्थिति भएन । पर्याप्त मात्रामा यौनउत्तेजना नभएको स्थितिमा योनिरस नै आएको हुँदैन । यस्तो स्थितिमा यौनसम्पर्कको घर्षणले पोल्ने समस्या हुन्छ । यौनसम्पर्कको दौरानमा त्यतातिर ध्यान नगएको हुन सक्छ तर सो सकिएपछि पोलेको अनुभव हुन सक्छ । योनिशोथको (सुन्निने) कारणले यस समस्यालाई चर्को गराउन सक्छ । अनावश्यकरुपमा धेरै नै डुस दिएर योनि सफा गर्ने बानी, केही हर्मोनयुक्त औषधिको प्रयोग, योनिमा नङ, अन्य वस्तु वा यौनसम्पर्ककै कारणले हुने चोटपटक पनि यसको कारण हुन सक्छ ।

तपाईंले आफ्नो यौन तथा यौनिकताप्रतिको धारणा स्पष्ट पार्नुभएको छैन । कतिपय स्थितिमा मानसिक कारणले यस्तो पीडाको अनुभव हुने सम्भावना पनि देखिन्छ । यौनसम्पर्कसम्बन्धी नकारात्मक धारणाले ग्रसित भएको स्थितिमा वा डर भएको स्थितिमा पनि यस्तो हुने गर्छ । विशेष गरेर भयातुर वा डर भएको कारणले गर्दा यौनसम्पर्क गर्न लाग्दा अकस्मात् योनिको मांसपेशीको संकुचन हुन जान्छ र सो कडा हुन्छ । यस्तो बेलामा यौनसम्पर्क राख्न खोज्दा सो यौनसम्पर्क पीडायुक्त हुन्छ । तपाईंको पत्रको आधारमा कुरा गर्दा आशा गर्दछु कि तपाईंलाई यस्तो केही छैन ।

यौनसम्पर्क राख्दा महिलालाई पोल्ने कारणहरूमा योनिको संक्रमण प्रमुख हुन सक्छ । योनिको संक्रमण जीवाणु वा ढुसी जातिका सूक्ष्म जीवबाट हुन सक्छ । यसले गर्दा योनिशोथ  गराउन सक्छ । यस्तो बेलामा अस्वाभाविक योनिश्राव हुन्छ र चिलाउने पनि हुन्छ । त्यसबाहेक यौनरोग हुने सम्भावना पनि त्यत्तिकै छ । यसको लक्षण नभएको कुरा लेख्नुभएको छ । श्रीमान्–श्रीमतीको बीचमा बाहेक अन्य कसैसँग यौनसम्पर्क नै नभएको स्थितिमा यौनरोग बाहिरबाट सर्ने भएन । तर शंका भएमा चिकित्सकबाट दुवैको परीक्षण तथा उपचार एकैसाथ गर्नुपर्छ । किनकि कतिपय स्थितिमा यौनरोग भए पनि लक्षण नदेखिन सक्छ ।


वीर्यको एलर्जीको सम्भावना

तपाईंको पत्रमा भएको सीमित जानकारीका आधारमा तपाईंलाई वीर्यको एलर्जी हुन सक्ने बलियो सम्भावना छ । कन्डमको प्रयोग गर्दा यसरी नपोल्ने तर योनिमा वीर्य स्लखन हुँदा पोल्ने, वीर्यको एलर्जीको कारणले नै भएको हुन सक्छ ।

यसरी वीर्य स्खलनपछि योनि पोल्ने समस्या विरलै (एक प्रतिशत) मात्र हुने गर्छ । त्यसो भए पनि यस्तो समस्या भएका महिलालाई शारीरिक तथा मानसिकरुपमा निकै असहज परिस्थिति हुने गर्छ । कसै–कसैलाई त यौनसम्पर्कपछि केही घन्टासम्म नै यस्तो असजिलो परिस्थिति बेहोर्नुपर्छ । तपाईंलाई थाहा नै होला कि वीर्य तपाईंको शरीरका लागि बाहइ् वस्तु हो । बाहइ् वस्तु शरीरमा प्रवेश गरेपछि त्यसले शरीरमा केही परिवर्तन ल्याउँछ नै । तपाईंको सन्दर्भमा तपाईंको योनिको वातावरणलाई यसले केही भए पनि परिवर्तन गर्छ । यस्तो कुराले योनिशोथलाई बढावा दिन सक्छ ।

वीर्यमा भएको प्रोटिनसँगको एलर्जी प्रतिक्रियालाई नै वीर्यसँगको एलर्जी भनिन्छ । हुन त वीर्यमा भएको कुनै पनि प्रोटिनको एलर्जी हुन सक्छ । चिकित्सा क्षेत्रमा वीर्यको एलर्जी भन्नाले human seminal plasm protein hypetsensitivity (SPH) भन्ने बुझिन्छ । यो समस्या १ प्रतिशत जति जोडीमा हुने देखिएको छ । कन्डमको नियमित प्रयोग भएको स्थितिमा यो समस्या नदेखिएको हुन सक्छ । तुलनात्मकरुपमा विरलै हुने भए पनि यो विशेषतः महिलामा मात्र हुने समस्या हो ।

कुनै–कुनै अवस्थामा श्रीमान् वा पुरुष साथीले प्रयोग गरेको औषधि, खाना वा पेयपदार्थमा कुनै एलर्जी गराउने वस्तु छ भने त्यसले पनि एलर्जी गराएको हुन सक्ने सम्भावना हुन्छ ।

वीर्यको एलर्जीको लक्षण

समयावधि वा तीव्रता  वीर्यको सम्पर्कमा आएको केही बेरपछि योनि तथा योनिक्षेत्रमा पोल्ने, चिलाउने, सुन्निने अनि रातो हुने हुन सक्छ । गम्भीर किसिमको एलर्जी भएको स्थितिमा भने शरीरमा डाबर आउने अनि सास फेर्न नै गाह्रो हुन सक्ने स्थिति पनि आउन सक्छ ।


वीर्य योनिको सम्पर्कमा आउँदा मात्र होइन, अन्य अङ्गमा जस्तै कि मुख वा छालामा पर्दा पनि वीर्यको एलर्जी हुन सक्छ । तपाईंको श्रीमान्को वीर्य यसरी अन्य अङ्गमा पर्दा पनि एलर्जी हुने समस्या छ वा छैन, नलेख्नुभए पनि पक्कै तपाईंलाई थाहा होला । यस्तो हो भने तपाईंको समस्या वीर्यको एलर्जीले हो भन्न सकिने बलियो आधार रहन्छ ।

वीर्यसँगको एलर्जी भएका महिलामध्ये आधाजसो महिलामा अन्य एलर्जी पनि हुन सक्छ । यस्तै पाँच जनामा दुई जनालाई पहिलो यौनसम्पर्कबाट नै लक्षण देखिन थाल्छ र समय बित्दै जाँदा एलर्जी कडा तथा चाँडो–चाँडो देखिने हुन्छ । लक्षण सामान्यतया ३० मिनेटभित्र देखिइसक्छ तर केही परिस्थितिमा केही घन्टा वा दिनपछि पनि देखिन सक्छ ।

समस्याको समाधान

यौनसम्पर्कपछि यौनआनन्दको मजामा सुस्ताउनुको सट्टा यसरी पीडा भोग्नुपर्दा निकै असजिलो महसुस गर्नुपर्ने हुन्छ । यसको समाधानका लागि मुख्य कुरा वीर्यको प्रत्यक्ष सम्पर्कमा आउने स्थिति कम गर्नु हो । त्यसैले आवश्यकता नपरेसम्म वीर्य स्खलन पनि सीधै योनिमा नपार्दा समस्या कम गर्न सजिलो हुन्छ । यसका लागि सबैभन्दा राम्रो उपाय कन्डमको नियमित प्रयोग गर्नु नै हो । तपाईंलाई थाहै होला, कन्डमले यौनरोगका साथै गर्भनिरोधको पनि काम गर्छ । यौनसम्पर्कको बेलामा वीर्य स्खलन हुँदा योनिको बाहिर, अनुहार, हात वा तीघ्रा, जता वीर्य परेको भए पनि नरम हातेरुमाल वा कपडाले त्यसलाई तुरुन्त पुछ्ने गर्नु सहयोगी हुन्छ । गम्भीर किसिमको एलर्जी हुने स्थितिमा चिकित्सकको सल्लाहमा तपाईंले इन्जेक्सन लिनुपर्ने स्थिति पनि हुन सक्छ ।

यो समस्या कम गर्न desensitization गर्नुपर्ने हुन्छ । यसका लागि एक विधि अपनाइन्छ, जसलाई  Intravaginal Seminal Graded Challenge (ISGC)  भनिन्छ । यसको लागि योनिमा एकदमै पातलो बनाइएको वीर्यको केही मात्रा राखिन्छ र बिस्तारै मात्रा बढाउँदै लगिन्छ । यस परीक्षणमा केही घन्टा लाग्न सक्छ । यस्तै २० मिनेट जतिमा वीर्यको नयाँ मात्रा थपिन्छ । त्यस बेलासम्म मात्रा थपिन्छ जबसम्म महिलाले त्यसलाई सहन सक्ने हुँदैन । यसबाट वीर्यको कति मात्राले ती महिलालाई बढी असर गर्छ भन्ने थाहा हुन्छ । वीर्यको थोरै मात्रा भएको इन्जेक्सन छालामुनि दिने विधि पनि छ । यसबाट पनि परीक्षण गर्न सकिन्छ ।

प्राकृतिकरुपमै desensitization  लाई कायम राख्ने हो भने निय िमतरुपमा यौनसम्पर्क राख्ने सल्लाह दिइन्छ । यसको लागि कम्तीमा पनि ४८ घण्टामा एकपल्ट यौनसम्पर्क राख्नुपर्ने हुन्छ ।

वीर्यको एलर्जीले सन्तान जन्माउन बाधा गर्छ कि ?

वीर्यको एलर्जी हुनुको प्रत्यक्ष सम्बन्ध सन्तान जन्माउन नसक्नेमा हुँदैन । यो कुरा पक्कै हो कि यौनसम्पर्क राख्नासाथ एलर्जीको कारणले पीडा वा असजिलो हुने हुँदा यौनसम्पर्कबाट नै परहेज गर्ने स्थिति भने आउन सक्छ । त्यसै गरी समस्या समाधान गर्ने एक विधिको रुपमा नियमित कन्डमको प्रयोग गरिरहेको स्थिति पनि हुन सक्छ । यस्तो परिस्थितिमा वीर्यमा भएको शुक्रकीट र डिम्बको
मिलन हुन पाउँदैन ।

तर प्रत्यक्षरुपमा सन्तान नहुनुको कारण वीर्यको एलर्जी हो भन्नचाहिँ मिल्दैन । विभिन्न उपायले शुक्रकीट र डिम्बको मिलन गराएमा सन्तान जन्माउन सकिन्छ । वीर्यको एलर्जीको समस्या भएर यौनसम्पर्क हुँदा असजिलो भएको स्थितिमा पनि कृत्रिम गर्भाधानको सहयोगमा गर्भधारण गर्न सकिने प्रविधिको विकास भइसकेकोले चिन्ता लिनुपर्ने देखिँदैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget