news and more entertainment

राजमार्गको यौनधन्दा : मलेखु र मुग्लिन ‘सेक्स ट्रान्जिट प्वाइन्ट’

जेठ १० गते
लोकमार्ग पनि भन्न थालिएको छ राजमार्गलाई। त्यसो त यसले ठगीमार्गको नाम पाएको पनि धेरै भइसक्यो। मान्छेसँग मान्छे, संस्कृतिसँग संस्कृति जोड्दै राजमार्गले नेपालको विकासमा सघाउ नपुर्‍याएको होइन। तर, राजमार्गकेन्द्रित व्यापारका नकारात्मक पक्षहरूले राजमार्ग बदनाम भएको छ। लामो यात्रा कष्टको अर्काे नाम भएको छ। यात्रुहरू राजमार्गका आडमा खुलेका होटलबाट लुटिएको अनुभव गरिरहेका छन्।
बेथितिग्रस्त र अस्तव्यस्त छ राजमार्ग। अम्मर जीसी र रामेश्वर कार्कीले थानकोटदेखि नारायणगढसम्मको यात्रा गरेर राजमार्गको ‘लाइभ विवरण’ प्रस्तुत गरेका छन्। के–के देखे, के–के भेटे, उनीहरूले राजमार्गमा?
ट्राफिक प्रहरी प्रभाग, नागढुंगाका अनुसार दैनिक सरदर पाँच हजार सार्वजनिक गाडी राजधानी ओहोरदोहोर गर्छन्। थानकोट–नारायणगढ सडकखण्डमा यात्रुका सेवाका लागि भन्दै हजारौँ होटल तथा रेस्टुरेन्ट खुलेका छन्। तर, यात्रु भने आफू लुटिएको अनुभव गर्छन्।

राजमार्गकेन्द्रित व्यवसाय थालिन्छ नागढुंगाबाटै। र, यो ‘हाइवे बिजनेस’ विशेषगरी नौबिसेबाट सुरु हुन्छ। नौबिसेका होटलतिर चालकहरू खुस्सखुस्स गाडी छिराउँछन्। र, भोका यात्रुहरू मेसो राजमार्गको सगुन चाखिहाल्छन्। ‘यी होटलहरूले जे दिन्छन्, त्यही खानुको विकल्प छैन,’ नौबिसे होटलअगाडि भेटिएका पोखरा जाने माइक्रोबसका यात्री दिनेश तुलाचन भन्दै थिए, ‘छोटो समयका लागि गाडी रोक्छन्। होटलले दिने खाना स्वस्थकर हो कि होइन, छुट्याउने फुर्सद कसलाई हुन्छ र?’
नौबिसेमै एउटा होटल देखिन्छ, ‘सीधासादा भोजनालय’। यस्ता नामका मात्रै सीधासादा होटल राजमार्गका दायाँबायाँ जहीँतहीँ भेटिन्छन्। तर, त्यहाँ सीधा केही पनि हुँदैन। सबैथोक बांगो हुन्छ। सादा केही पनि हुँदैन, सबैथोक जटिल लाग्छन्।

सुक्यो धार्केको व्यापार

धार्केको चालिसेस्थित चालिसे स्टाफ होटलमा बिहानै गाडीको लाम लागिरहेको हुन्छ। होटलव्यवसायी कमला लामाका अनुसार त्यहाँ धेरैजसो बुटवल, पाल्पा र पोखराका गाडी अडिन्छन्। ‘दिनमा ४० वटाजति गाडी रोकिन्छन्,’ उनले भनिन्, ‘सबै यात्रुले खाइदिने भए पो। यहाँ त लगानी उठाउनै मुस्किल छ।’ उनको कुराबाट बुझिन्छ, गाडीलाई दिने ‘लगानी’ उठ्न मुस्किल पर्छ। कति दिइन्छ गाडीलाई त? उनी नचाहेरै मुख खोल्छिन्, ‘पैसा त्यति दिन्नौँ।’
नजिकै संयुक्त स्टाफ होटल छ। पहिला गाडी राख्ने ठाउँ नपुग्ने यो होटलमा अहिले झिंगा पनि नभन्किने बताउँछिन्, यसकी साहुनी। गाडीले मागेजति पैसा दिन नसक्दा आफ्नो होटल सुकेको उनले बताइन्। धार्केकै पाथिभरा होटलका मालिक नवराज गजुरेल आफ्नो होटलअगाडि रोकिने गाडीको संख्या घटेकोमा चुकचुकाउँदै थिए। पहिला तीन सय गाडी लाग्ने यो होटलमा अहिले ४० वटा जति गाडी रोकिन्छन्। उनी ‘डे’ गाडीलाई पाँच सय, ‘नाइट’लाई हजार रुपैयाँ दिन्छन् कमिसन। ‘यही कमिसनको खेलोले कुरा बिगार्छ,’ उनले भने, ‘नयाँ होटलले धेरै कमिसन दिन्छन् भनेर आँखा चिम्लेर जान्छन् ड्राइभरहरू।’ उनका अनुसार गाडी समितिलाई लाख रुपैयाँभन्दा बढी धरौटी दिएर खुशी पारेपछिमात्रै होटलमा गाडीहरू रोकिन्छन्।
मूल्यमा कुनै मापदण्ड छैन भन्ने थाहा हुन्छ, यहाँसम्म पुग्दानपुग्दै। नौबिसे होटलमा मासुभातलाई २ सय २५, चालिसेमा २ सय २०, संयुक्तमा २ सय र पाथिभरामा २ सय ५० रुपैयाँ तिर्नुपर्छ। ‘मनपरी पैसा असुलेका छन्। हेर्दै घिन लाग्ने खाना खुवाउँछन्। अनि कसरी चल्छ होटल?’ यात्रु सुमन पौडेल त्यहाँका होटललाई आरोपित गर्दै धार्केको व्यापार सुक्नुको कारण पनि यही भएको बताउँछन्।
जुँगेखोलास्थित माछापुच्छ्रे होटलकी सञ्चालिका मीरा बुढाथोकी होटल खोलेकोमा पछुताउँदै थिइन्। ‘टन्न कमाइन्छ भनेर काठमाडौँबाट झोलाझाम्टा भिरेर यता आइयो,’ उनले दुखेसो पोखिन्, ‘गाडीले भनेजति कमिसन दिएर यात्रुलाई ठग्न सकिएन। सोझो पाराले हाइवेमा होटल गर्न सकिँदो रहेनछ।’ यी होटलहरूले आफूहरू सुक्नुको कारण पाँच महिनाअघि खुलेको सिम्लेको नमस्ते नेपाल होटललाई देखाइरहेका थिए। ‘ड्राइभरले मागेजति कमिसन दिन्छ। त्यो यात्रुबाटै असुल्छ,’ धार्केका एक होटल सञ्चालकले भने।

फलिफापै फलिफाप

त्यसपछि नमस्ते नेपाल पुग्यौँ हामी। त्यहाँ थकाली खाना, फास्ट फुड, शाकाहारी खाना र तास तथा सेकुवाका लागि छुट्टाछुट्टै व्यवस्था थियो। बोर्डमा ‘अमेरिकाको क्यालिफोर्नियादेखि धादिङसम्मको होटल यात्रा’ लेखिएको थियो। अन्य होटलले आरोपित गरेजस्तो कमिसनको खेल यो होटलले पनि खेलेकै देखियो। होटलका एक कर्मचारीका अनुसार नास्तामा तीन सयदेखि पाँच सय र खानामा हजारदेखि १५ सयसम्म दिइन्छ गाडीलाई। नयाँ तवरले हाइवे व्यवसाय सुरु गरेको दाबी गर्छन् सञ्चालक। तर, पारा पुरानै छ। रेट लिस्टमा जे लेखिए पनि यात्रुसँग चर्को मूल्य असुलिन्छ। १५ रुपैयाँको चाउचाउ पकाएको ७० रुपैयाँ लेखिन्छ लिस्टमा। ‘मासु हालेको’ भन्दै १ सय २० सम्म असुलिन्छ। खाजा सेट १ सय २० भनिन्छ। ‘खिर र अचार हालेको देख्नुभएन’ भन्दै दुई सय असुलिन्छ। ७० जना स्टाफ राखेर चलाइएको यो होटलमा दिनमा दुई सयभन्दा बढी गाडी रोकिन्छन्।

सञ्चालकले भन्ने गरेजस्तो ‘नयाँ तरिका’ छ यहाँ। एकान्त ठाउँमा खोलिएको होटलको छेउछेउमा आठ वटा खुद्रापसल छन्। खुद्रापसलेले एक गाडीबापत ४० रुपैयाँ होटललाई तिर्नुपर्छ। ‘४० का दरले महिनामा लाखभन्दा धेरै तिर्नुपरेको हुन्छ। त्यो हामीले गोजीबाट तिरेर भएन,’ एक खुद्रापसलेले भने। अनि ती खुद्रापसलेले पनि त्यही झोकमा यात्रुकै ढाड सेक्छन्। ४० रुपैयाँ पर्ने कुरकुरे ७० रुपैयाँ पर्छ। ३० लिनुपर्ने चिसो ५० पर्छ। कहिलेकाहीँ त सूर्य चुरोटको बट्टामा साहसी चुरोट भेटिन्छ। होटल र खुद्रापसल दुवै नाफामा छन्। खाना, खाजा जस्तोसुकै होस्, भनेजति तिर्न सक्ने यात्रु छँदै छन्।
खयरघारीको एक्ले भन्ने ठाउँमा एक्लै छ, कान्तिपुर होटल। कत्तिको जमाइएको छ एकाधिकार? होटल व्यवसायी राजकुमार प्याुकरेल दाबी गर्छन्, ‘कसैमाथि जमाइएको छैन। बरु धेरैलाई सेवा गरिएको छ।’ उनका अनुसार खाना–नास्ता खानेले सुविधा पाए। बिसौँको संख्यामा होटलमा आश्रित मजदुरले पनि जीवन धान्ने आधार पाएका छन्। ‘आश्रितको संख्या धेरै भएर नै हाइवेमा हल्का महँगो पर्न जान्छ,’ उनले भने, ‘ट्याक्टिस र टि्रक लाउन नजान्ने हाइवेमा टिक्दैनन्।’

प्याकुरेलको बोली मीठो छ। यात्रु दंग पर्छन्। ‘यो पापीको ऋण मैले खाको, चट्टै छोडी जान नि नपाको!’ होटलमा भरिभराउ यात्रुलाई गलल हँसाउँदै गल्लामा पैसा भरिरहेका हुन्छन् उनी। कुर्सीबाट उठ्ने फुर्सदै हुँदैन उनलाई। ‘यही मीठो बोलीवचन र व्यवहारले त राजमार्गमा टिकिरहेको छु नि,’ उनले भने।
‘हामी त घाटामा’

गजुरीमा पनि होटल र रेस्टुरेन्टको संख्या कम छैन। यहाँको एक होटलअगाडि रोकिएको गोरखाको माइक्रोका धेरैजसो यात्रु होटलबाहिरै थिए। चितवनका दीपेन्द्र लामिछाने रिसाउँदै थिए, ‘यस्तो गन्हाउने होटलमा रोक्छ। अनि कल्ले खाइदिन्छ यिनीहरूको खाना?’ गोरखाका राजु बराइलीलाई चित्त बुझेको छैन, ‘दिनदहाडै हाकाहाकी लुटेका छन्। कोही बोल्न सकेको छैन। कहीँ नभएको दुर्दशा हाइवेमै देखिन्छ।’ गोरखाकै जीवन पौडेल भने होटल छिर्न खोज्दै थिए, ‘पेटले अन्न मागेपछि नखाई भएन। जबर्जस्ती भए पनि खानैपर्यो ।’
मुग्लिनमा पछिल्लो पटक होटल बन्द हुने क्रम बढेको बताउँछन्, स्थानीय सन्देश थापा। ‘आधाजति होटल बन्द भइसके,’ उनका अनुसार अहिले २० वटा जति होटल सञ्चालनमा छन्। यसको कारण हो, ड्राइभरले एकान्तको होटल खोज्नु। अनि, त्यो होटलसँग बार्गेनिङ गर्नु। स्थानीय विश्वप्रकाश नेपालका अनुसार पहिले घरैपिच्छे होटल थिए मुग्लिनमा। खानामा गुणस्तर नभएर निजी गाडी पनि रोकिन छाडेको उनले बताए। उनले उत्पादन गर्ने तरकारी अहिले मुग्लिनमा कम खपत हुन्छ।

पश्चिम जाने अधिकांश गाडी चितवनको रामनगरमा रोकिन्छन्। यहाँ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले होटलको स्तरअनुसार वर्गीकरण गरेको छ। न्यू शिवशक्ति होटलमा पुग्दा सञ्चालक विनोद भण्डारी दैनिक घाटाको खाता पल्टाइहाल्छन्। पहेँलोमा एउटा रातो अर्थात् मध्यमस्तरको स्टिकरप्राप्त यो होटलले आफूले गुणस्तरीय खाना खुवाउँदै यात्रुको सेवा गरिरहेको दाबी गर्छ। दैनिक ६० वटा गाडी रोकिन्छन् यहाँ। र, पनि किन घाटामा? भण्डारी कारण खुलाउँछन्, ‘दुईचार सयको व्यापार हुन्छ। हजारभन्दा माथि दिनुपर्छ गाडीलाई।’ उनका अनुसार बस कम्पनीलाई दुई लाख रुपैयाँ दिनुपर्छ। ‘यत्रो पैसा कसरी असुल्ने?’ सुस्केरा हाल्छन् उनी। एक गाडीमा पाँच जनासम्म स्टाफलाई मीठोमीठो खाना निःशुल्क खुवाउनुपर्छ। गाडी होटलतिर फर्कायो कि कमिसनलगायत सेवा दिनैपर्छ। ‘खानामा गुणस्तर नहुनुमा गाडी साहू, समिति र ड्राइभर मुख्य दोषी छन्। हामी त घाटामा छौँ,’ उनले भने।

रामनगरकै राइस प्यालेस हरियो स्टिकरवाला अर्थात् उच्चस्तरको होटल हो। यो पनि घाटामै छ भन्छन्, सञ्चालक दीपेन्द्र मिश्र। सयौँ गाडीबाट घटेर अहिले प्यालेसका आँगनमा दुईतीनटा मात्र रोकिन्छन्। ‘कमिसनले अस्वस्थ प्रतिस्पर्धा भयो,’ उनले भने, ‘यसले हामी व्यवसायीलाई मात्र होइन, यात्रा गर्ने सर्वसाधारणको स्वास्थ्यमा असर परेको छ।’ उनले दुई सयमा मासुभात खुवाउँथे। तर, धेरैको दबाबपछि अहिले रेटलिस्ट नै च्यातिदिए उनले। ‘बरु तीन सय नै लिनुस्। हाम्लाई भत्ता बढाउनुस् भन्छन् गाडीवाला,’ उनले भने।

‘अनुगमनको नाटक’

सरकारले राजमार्गछेउछाउका होटल तथा रेस्टुरेन्टलाई नियमन गर्न भन्दै गत वर्षदेखि स्टिकर वितरण थाल्यो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बाँड्ने त्यस्ता स्टिकर चार प्रकारका छन्। उच्चस्तरका होटललाई हरियो, मध्यमलाई पहेँलोमा एक रातो, न्यूनस्तरकालाई पहेँलोमा दुई रातो र खराब अर्थात् बन्दै गर्नुपर्ने भनेर रातो स्टिकर दिइन्छ। गत वर्ष राजमार्गका १ सय ८१ होटललाई स्टिकर बाँडेको कार्यालयले यस वर्ष ७७ वटालाई बाँडिसक्यो। यसकार्य अन्तर्गत नियमित अनुगमन भइरहन्छ। तर, यात्रु तथा होटल सञ्चालकहरू यसलाई अनुगमनको नाटक भन्छन्। न्यू शिवशक्ति होटलका विनोद भण्डारी आर्थिक चलखेल र भनसुनका आधारमा स्टिकर वितरण भइरहेको बताउँछन्।
‘यसमा कुनै वैज्ञानिक मापदण्ड छैन,’ उनले भने, ‘भनसुन र चाकरीका आधारमा स्टिकर बाँडिन्छन्। अनुगमनको नाटक भइरहेको छ।’ उनी स्टिकर वितरणपछि पनि होटलको गुणस्तर सुधार्नुपर्ने बाध्यता ठान्दैनन्। सरकारले भनेजस्तो सेवासुविधा दिन खाना, नास्ताको भाउ दोब्बर गर्नुपर्ने उनी बताउँछन्। त्यस्तै, हरियो स्टिकरप्राप्त राइस प्यालेसका दीपेन्द्र मिश्र पनि राज्यले कमजोर अनुगमन गर्दा यसको प्रभावकारिता नबढेको भन्छन्। ‘कहिलेकाहीँ यसो नाम मात्रको अनुगमन गर्न आउँछन्,’ उनले भने, ‘दिनेले जस्तो पनि दिइरहेका छन्। सुध्रनेतिर ध्यानै छैन।’ हरियो स्टिकरलाई भने यात्रुले विश्वास गर्ने गरेको उनको अनुभव छ। ‘तर, गाडीले हरियो स्टिकरमा रोकिदिए पो,’ उनले भने। कपिलवस्तुका यात्रु सुजन चलाउने पनि स्टिकर वितरणपछि पनि होटल नसुध्रेको बताउँछन्। ‘दोषीलाई कडा कारबाही गर्ने भए पो सबै डराउँथे,’ उनले भने।

‘कमिसन बाध्यता’

होटलहरू ड्राइभरलाई दिने भत्ताकै कारण आफूहरूले गुणस्तर ‘मेन्टेन’ गर्न नसकेको बताउँदै गर्दा ड्राइभरहरू भने भत्ता लिनु आफ्नो बाध्यता भएको सुनाउँछन्। काठमाडौँ–धनगढी रुटका ड्राइभर विक्रम मल्ल होटलबाट भत्ता नलिए पकेट खर्चसमेत नबच्ने बताउँछन्। ‘त्यही भत्ताले त खर्च चलेको छ। नत्र त यति लामो रुटमा कसरी सकिन्छ चलाउन?’ उनले भने। उनले होटलबाट एक टि्रप यात्रु लगिदिएबापत नास्ताको दुई सय र खानाको हजार रुपैयाँ बुझ्छन्। होटलभित्र गाडी छिरायो कि भत्ता पाक्यो। अर्का चालक मोहन जोशीले भत्ताले स्टाफलाई पनि राहत भएको बताए। होटलले यो भत्ता प्यासेन्जरबाटै असुल्ने गरेको भने उनलाई थाहा छ। गाडी साहूको समेत यसमा मिलोमतो हुने गरेको छ। गोरखा चल्ने एक माइक्रोका सहचालकलाई पनि ड्राइभरको भत्ताप्रति चित्त बुझेको छैन। उनलाई लाग्छ, ‘यही भत्ताले होटलवालाहरू रिसाउँछन्। त्यो रिस यात्रुमाथि पोख्छन्।’ त्यो भत्ता ड्राइभरले एक्लै झ्वाम पार्ने गरेको उनले बताए।
ट्रकबाहेकलाई निषेध
राजमार्गमा यस्ता होटल पनि छन्, जहाँ यात्रु बसलाई निषेध गरिन्छ। ट्रकका लागि मात्र भनेर होटल, रेस्टुरेन्ट खोलिएका छन्। धार्केको न्यू अधिकारी स्टाफ होटल यस्तै होटल हो। त्यहाँ ट्रकलाई मात्र खाना नास्ता खुवाइन्छ। दैनिक ७० देखि दुई सय वटासम्म ट्रकका स्टाफलाई खाना खुवाउँछ यो होटलले। ‘ट्रकबाहेकका गाडीलाई आउनै दिन्नौँ,’ सञ्चालक कमल अधिकारीले भने। गाडीवालालाई भत्ता दिनुपर्ने, यात्रुले किचकिच गर्ने जस्ता कारणले उनले ट्रकलाई मात्र खाना–नास्ता खुवाउने गरेको सुनाए। यो होटलमा १ सय ५० रुपैयाँमा मासुभात खान पाइन्छ।

राजमार्गको यौनधन्दा

राजमार्गछेउछाउमा यौनधन्दा गरेर जीविका चलाउनेहरू पनि छन्। अनि, मनग्गे कमाउने दलालहरू पनि। यौनधन्दाकै कारण ज्यामिरे बजार ‘लालटिन बजार’को नामले चिनिन्छ। रातमा लालटिन बालेर बसेको देख्यो कि त्यसलाई यौनकर्मी बुझ्ने गरेको ट्रक ड्राइभर प्रमोद पराजुलीले बताए। त्यहाँ रहेका पाँच–छवटा खरका छाप्रामा ट्रक ड्राइभरहरूको लाम लागेको हुन्छ। स्थानीय एक महिलाका अनुसार अहिले त यो बजारलाई ‘लालटिन बजार’ भनेर चिन्न थालेपछि त्यस्ता ‘धन्दे’ महिलालाई हटाउन थालिएको छ। लालटिन बजारको केही अगाडि जोगीमाराको प्रहरी चौकी छ।
चौकी इन्चार्ज बालकृष्ण भट्टराई लालटिन बजारको यौनधन्दालाई निर्मूल पार्न खोजेको बताउँछन्। ‘पहिला त धेरै थिए। अहिले हामीले त्यस्तो काम गर्नेलाई हटाउन स्थानीयसँग मिलेर जुटेका छौँ,’ उनले भने, ‘राजमार्गका अन्य ठाउँमा पनि यस्ता धन्दा हुन्छन्। तर, त्यस्तालाई हटाउन धेरै समस्या छन्। पहिला त सूचनै पाउन गाह्रो छ। दोस्रो होटल चलाएकाहरूले सहायक पेशाका रूपमा त्यसलाई अपनाएका हुन्छन्।’
मलेखु र मुग्लिन ‘सेक्स ट्रान्जिट प्वाइन्ट’ बनेको छ। ‘पोखराबाट केटा वा केटी यहाँ आउने अनि उसले काठमाडौँबाट पार्टनर बोलाउने!’ मलेखुका एक होटल सञ्चालकले भने। मुग्लिनका होटल सञ्चालकका अनुसार त्यहाँ बाहिरबाट आएकाले यौनधन्दा गर्छन्। नारायणगढ र त्यस छेउछाउमा पनि यौन व्यवसाय मौलाएको छ।

नारायणगढस्थित पोखरा बसपार्क छेउका अधिकांश होटलमा कल गर्लको व्यवस्था हुन्छ। केही होटलले त काम गराउने नाममा यौनकर्मी नै राखेका छन्। हाइवेमा सयौँले यौन सुख दिने गरेको बताउँछन् स्थानीय बासिन्दा। आफूलाई सामाजिक स्वयम्सेविका बताउने सोतीखोलाकी रूपा यौनकर्मीहरूलाई सुरक्षित यौन सम्पर्क गर्न सुझाइरहन्छिन्। उनले यौनकर्मी महिलालाई भेटेरै कन्डम बाँड्छिन्। ‘झाप्रेखोला, जुँगेखोला, सोतीखोला, नौबिसे, खयरघारी र गल्छीका छाप्रादेखि महलसम्म यौनधन्दा गर्नेहरू टन्नै छन्,’ रूपाले भनिन्।
मलेखुकी छाया दिदी दलालको काम गर्छिन्। उनले बाहिरबाट आएका पाहुनाका निम्ति रमाइलोका लागि केटी मिलाइदिन्छिन्। ‘के गर्नु बाँच्न त पर्योर नि,’ उनले भनिन्, ‘राजमार्गमा यस्तो काम गर्ने महिला कति छन्, कति।’

मलेखुको माछा भन्नुमात्रै

नास्ता खुवाउन गाडीहरू रोकिन्छन् मलेखुमा। धेरै यात्रुको माग पनि मलेखु नै हुन्छ। किनभने, मलेखुमा त्रिशूलीको ताजा माछाको स्वाद लिन पाइन्छ भन्ने भ्रम धेरैलाई छ। त्यसमाथि, यहाँका होटल सञ्चालक बाठा छँदै छन्। जनकपुर र भारतको बिहारतिरबाट ल्याइएका माछालाई मलेखुका भन्दै बेचिइन्छ यहाँ। दैनिक झिसमिसेमै गाडीभरि माछा आउँछ मलेखुमा। त्यही माछा दिनभरि होटलबाहिर सजाएर ‘मलेखुको माछा’ भन्दै बेचिन्छ। वर्षौंदेखि त्रिशूलीमा माछा मार्दै आएका मलेखुको माझी होटलका सञ्चालक शम्भु शहनीले वास्तविकता खुलाए, ‘पाँच प्रतिशतमात्र होला लोकल माछा। धेरैले बाहिरको माछा यहीँको भनेर ढाँट्छन्।’ आफूलगायत माझीले त्रिशूलीमा दैनिक सातआठ किलोमात्र माछा मार्न सक्ने उनले बताए। लामा होटलका मानबहादुर लामा आफूले कसमै खाएर बाहिरको माछालाई त्रिशूलीको माछा भनेर बेच्ने गरेको स्विकार्छन्। ‘सबैले खोज्छन् मलेखुको माछा। यहाँ हुन्छ जनकपुरे,’ उनले भने, ‘सकेजति कसमै खाएर यहीँको हो भन्नुपर्छ। यति नगरे होटल कसरी चलाउने? राजमार्गलाई ठगीमार्ग यसै भनिएको हो त?’
दीपेश होटलका हरि सिलवालले पनि यहाँका धेरै होटलले बाहिरको माछालाई यहीँको भनेर बेच्ने गरेको बताए। माझी शम्भुका अनुसार त्रिशूलीको माछा चिन्न नसक्ने सबै ठगिन्छन्। त्रिशूलीको माछा किलोको सातआठ सयमा बिक्छ भने बाहिरको २ सय ५० रुपैयाँ पर्छ। त्रिशूलीको माछा चिन्ने दुई उपाय बताउँछन् शम्भु। ‘त्रिशुलीका माछा चम्किलो देखिन्छन्,’ उनले भने, ‘अनि, यहाँका माछाका साइज फरक–फरक हुन्छन्, एकैनासका हुँदैनन्।’

जाला है पहिरो!

केही दिनअघि पृथ्वी राजमार्ग अन्तर्गत जोगीमारा र फिस्लिङमा गरी एकैपटक तीन ठाउँमा पहिरो जाँदा दिनभरि यात्रु अलपत्र परे। माटो हटाउने, पिच गर्नेलगायत मर्मत कार्य अहिले हुँदै छ। ‘अहिले पनि यसरी ढुंगामाटो झरिरहेको छ,’ माथिबाट झर्दै गरेको ढुंगामाटो देखाउँदै मजदुर कर्ण श्रेष्ठले भने, ‘जोगिएर हिँडेन भने जतिबेला जे पनि हुन सक्छ।’ यो ठाउँमा जतिबेला पनि पहिरो झर्न सक्ने भन्दै सडक डिभिजन भरतपुरका सुपरभाइजर हरि घिमिरेले होशियार भएर यात्रा गर्न सुझाव दिए। माथिबाट कच्ची सडक खनेकाले पहिरोको जोखिम बढ्दै छ। वनमा आगो लगाउँदा पनि यसको जोखिम बढेको छ। ‘आगोले चट्टान चिरिएका हुन्छन्। त्यो चिरिएको ठाउँमा पानी पस्यो भने भासिन्छ,’ घिमिरेले भने। पहिलापहिला कृष्णभीरमा झरिरहने पहिरोले वर्षामा यात्रु हैरान हुन्थे। तर, पछिल्लो पटक पहिरो झर्ने ठाउँमा तलमाथि पिच गरिएकाले जोखिम कम भएको छ। यद्यपि, विज्ञहरू भने कृष्णभीरको पहिरो अझै साम्य नभएको बताउँछन्।

हैरान पार्ने टोकरीपसले

गाडी रोक्न लागेको सुइँको पाउनेबित्तिकै टोकरी पसलेहरू कुदिहाल्छन्। कोही गाडीको झ्यालबाट कराउँछन्, कोही ढोकामा लाम लागेर भित्रै छिर्छन्। चटपटे, भुजिया, मौसमी फलफूल आदि बेच्छन् उनीहरू। ‘गाडीले ह्याङ गराइरा बेलाँ यिनीहरूको कचकचले पनि तनाव गराउँछ,’ यात्रु पर्शुराम धिमालले भने। टोकरीपसलेको आफ्नै व्यथा छ। मलेखुमा काँक्रो बेच्ने सबिर मुसलमान रातदिन करायो, दक्षिणा हरायो जस्तै हुने बताउँछन्। ‘नजिकै गएर कचकच गर्योब भने दिक्क भएर पनि खान्छन्,’ उनले यात्रुको मनोविज्ञान बुझेजस्तो गरी भने।

व्यापारको नयाँ तरिका

राजमार्गछेउछाउमा पसल, व्यापार गर्ने नयाँ उपाय अपनाउन थालिएको छ। खाली ठाउँमा पर्दा वा प्लास्टिक राखेर शौचालयको व्यवस्था गरिदिने अनि त्यहीँ सानो पसल थाप्ने। खानीखोलानजिकै बाहुनडाँडाका कान्छा अछामीले भने, ‘हामीले यो पसल थापेदेखि खुल्ला दिसापिसाब कसैले गर्दैन। हाम्रो पसल पनि चलेको छ।’ हाल बाहुनडाँडामा मात्रै पाँचवटा यस्ता पसल चलिरहेका छन्। भल्टार, धार्के, र खानीखोलामा यस्ता पसल अनगिन्ती छन्।
(अम्मर जीसी/रामेश्वर कार्की- शुक्रबार साप्ताहिकबाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget