news and more entertainment

ख्याउटे जंगबहादुरको दुर्लभ तस्बिर सगै रोचक कुरा

जंगबहादुर राणाको एउटा दुर्लभ तस्बिर अहिले सामाजिक सञ्जालहरूमा खुबै सेयर भइरहेको छ । नेपाली इतिहासका यी ‘डरलाग्दा’ पात्र तस्बिरमा निकै दयनीय देखिन्छन् । ख्याउटे शरीर, चिम्सा आँखा, लामो कपाल, पातला जुँगा । कस्ता थिए त यी क्रूर शासक ? इतिहासकार ज्ञानमणि नेपाल यसरी चित्रण गर्छन्:

‘जंगबहादुर राणाको अनुहार र जिउडाल त्यति राम्रो थिएन । शरीर ख्याउटे थियो । अनुहार उतिसाह्रो आकर्षक थिएन । लुतेलाम्रे भए पनि उनले स्वदेशी–विदेशीलाई चकित पार्ने थुप्रै साहसी काम गरेका थिए । आखिर साहस भन्ने कुरा अनुहार र जिउडालमा भर पर्ने पनि चिज होइन नि ।
 
जंगबहादुरको पालामा एकपटक हात्ती बौलाएर काठमाडौं पसेछ । ढोई पाएन भने मत्ता हात्ती बौलाएर सहर पस्ने गर्छ । सहर पसेर त्राहिमाम मच्चाएपछि हात्ती नियन्त्रण गर्ने काम ख्याउटे शरीर भएका जंगबहादुरलाई दिइएछ । हात्तीलाई खेद्दै उनले टुँडिखेलको बाटो हुँदै थापाथली पुर्‍याएछन् । थापाथली पुगेपछि हात्ती रोकिएको मौका छोपेर जंगबहादुर छेउको रूखमा चढेछन् । रूखको हाँगाबाट हातमा बर्को लिएर उनी हात्तीको टाउकैमा पर्नेगरी फाल हानेछन् र बर्कोले हात्तीको आँखा छोपिदिएछन् । हात्तीलाई आँखा नदेख्ने बनाएपछि टाउकोमा अंकुश गाडेर नियन्त्रणमा लिएछन् ।
 
जंगबहादुर बेलायत भ्रमणमा जाँदा बाटोमा उनले अंग्रेजसामु अर्को शौर्य प्रदर्शन गरेका थिए । पानीजहाजबाट बेलायत पुग्न धेरै दिन लाग्थ्यो । बाटोमा त्यसै बस्न अल्छी लागेपछि आकाशमा उड्ने चरामाथि निसाना साँध्ने प्रतिस्पर्धा जंगबहादुर र अंग्रेजबीच चलेछ । कुनै अंग्रेजले चरामाथि निसाना साँध्न सकेनछन् । जंगबहादुरले भने गोली हानेर भटाभट चरो खसाएछन् । यसरी उनको सिकारी कलाबाट अंग्रेजहरूसमेत चकित परेका थिए ।
 
बेलायतबाट फ्रान्स हुँदै जंगबहादुर नेपाल फर्किएका थिए । फर्किएर आउँदा उनले विभिन्न नयाँ प्रविधि आफूसँगै लिएर आए । प्रेस र क्यामेरा उनले नै नेपाल ल्याएका थिए । त्यसपछि नेपालमा फोटो खिच्ने परम्परा आरम्भ भएको थियो । त्यसअघि चित्रकारले व्यक्तिको चित्र उतार्ने गर्थे ।’
 
श्री ३ जंगबहादुर राणाबारे अर्का इतिहासकार प्रा. दिनेशराज पन्त भन्छन्, ‘युवराज सुरेन्द्रविक्रम अलिक उटपट्याङ स्वभावका थिए । उनी जंगबहादुरलाई अनेक जोखिमपूर्ण काम गर्न लगाउँथे । उनले जंगबहादुरलाई धरहरादेखि, इनारमा र त्रिशूली नदीको पुलबाट फाल हान्न लगाएका थिए भनिन्छ ।

यस्ता जोखिमपूर्ण काम गरेर जंगबहादुरले सुरेन्द्रविक्रमलाई खुसी पार्नुपथ्र्यो । काजी बालनरसिंहका छोरा भएकाले दरबारमा उनको पहुँच थियो । विसं १९०३ भाद्र ३१ गते कोतपर्व मच्चाएर जंगबहादुर सत्तामा आए । सत्ता सम्हालेपछि उनले राष्ट्रहितका पक्षमा थुप्रै सार्थक काम गरे । त्यतिवेला उनले शौर्य प्रस्तुत नगरेका भए अहिले हामी आफूलाई गौरवका साथ नेपाली भन्न नपाउन पनि सक्थ्यौँ ।’( नयापत्रिकाबाट )
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget