news and more entertainment

अमरेशले भने, ‘सुशीलको आयु तीन महिना

काठमाडौं, फागुन १२ – नेपाली राजनीतिका भविश्यवेत्ता अर्थात् विश्वकप फुटवलका ‘पाउल अक्टोपस’ झैं मानिएका काँग्रेस नेता अमरेशकुमार सिंह अचेल नयाँ भविश्यवाणी गर्दै हिँड्न थालेका छन् । उनले भनेका छन्, ‘सुशील कोइरालाको आयु तीन महिना मात्र हो ।’ प्रधानमन्त्री कोइराला र भारतवीच तालमेल मिल्न नसकिरहेकै बेला अमरेश जसरी पनि शुसीललाई ढालेर एमाले नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउने
अभियानमा जुटेका छन् । ‘हामी (लैनचौर)ले भनेको नमान्ने त्यो महाराजगञ्ज(सुशील)को साटो जे भन्यो त्यही मान्ने बालकोट(केपी)लाई नै पावरमा ल्याउनुपर्छ’, अमरेश निकट मानिने एक सभासद्ले रातोपाटीलाई बताए । एमालेलाई गृह नदिँदा अप्ठयारोमा परेका प्रधानमन्त्री कोइरालाले भारतले भनेको पनि टेर पुच्छर नलाएको विश्लेषण अमरेशको थियो । ‘मेरो डिजाइन बमोजिम हिँडेको भए सुशील दाई बहुत दिनतक पावरमा मस्ती माथ्र्यो, सत्तामा रहन कुनै दिक्कत हुँदैनथ्यो, इन्डीयाको पनि आशिर्वाद हुन्थ्यो’, सुत्रका अनुसार अमरेशले भने, ‘अब सुशील दाइ कहिले चाइनीजको कुरा सुन्छ, कहिले पाकिस्तानीको कुरा सुन्छ । इन्डियाको बातलाई धोती लगाइदिन्छ, अनी प्रधानमन्त्री पनि हुन खोज्छ । यसरी त मामला चौपट हुन्छ ।’ अमरेशले केपी ओली नै तीन महिनापछिको प्रधानमन्त्री भएको ठोकुवा गरेका थिए । ‘मैले सुशीलजी प्रधानमन्त्री हुन्छ भनेको थिएँ, भइहाले, अब केपी ओली हुन्छ भनेको छु, ओलीजी भइहाल्छ । तपाईहरु लेखेर राख्नुहोला । इन्डियाको आदमीहरु शुसील दाईसँग धेरै गुस्सामा छ । अब उसलाई हटाइहाल्छ’, उनको जिकिर थियो । अमरेश यसरी केपी ओलीलाई प्रधानमन्त्री बनाउन अघि सर्नुको अर्थ स्पष्ट भइसकेको छ । भारतले सुशील सरकारलाई आफ्नो ‘फेबर’को सरकार मानेकै छैन । बरु, अर्को छिमेकी चीन भने निकै प्रफुल्ल देखिन्छ । चिनियाँ प्रधानमन्त्रीले सुशील प्रधानमन्त्री बनेको उपलक्ष्यमा यसपाली इतिहासमै पहिलो पटक लामो बधाइ सन्देश पठाए । त्यो लामो बधाई सन्देशमा अब नेपाल र चीनबीच कसरी अघि बढने, के के सम्झौताहरु गर्नेलगायत नेपालको विकासमा चीनले गर्ने सहयोगको फेहरिस्त नै उल्लेख गरिएको छ । ‘पहिले पहिले चीनले सामान्य बधाइ मात्र दिन्थ्यो । यसपाली आफ्नै मानिस भएर होला लामै बधाइ दियो’, कुटनीतिक क्षेत्रका एक ज्ञाता भन्छन्, ‘भारतले बरु सामान्य बधाइ दियो । चीनको बधाइ सन्देश धेरै हिसाबले अर्थपूर्ण छ ।’ दक्षिण एसियाली राजनीतिमा चीन र पाकिस्तानको कुरा मिल्ने गर्छ । पाकिस्तानको विकासमा चीनको धेरै हदसम्म योगदान रहेको छ । पाकिस्तानमा चीनको बढदो चलखेलका कारण भारत शंसकीत हुँदै आएको छ । यस्तोमा चीन र पाकिस्तानसँग हिमचिम बढाएका सुशील नै प्रधानमन्त्री भएकोमा भारत खासै उत्साहित नहुनु स्वाभाविकै हो । लैनचौर सुत्रका अनुसार भारतले अझै पनि सुशीललाई ‘कालो सूची’मै राखेको छ । केही समयपहिले विरगञ्जमा भारतीय दुतावासको काउन्सलर अफिस खुल्दा सुशीलले कडा शब्दमा विरोध जनाएका थिए । कहाँसम्म भने तात्कालीन राजदूत जयन्त प्रसादलाई बोलाएर कडा प्रतिबाद गरेका थिए । त्यसपछि जयन्तप्रसादले दिल्लीलाई रिपोर्ट बुझाए, ‘सुशील कोइराला हामीप्रति सकारात्मक छैनन । यीनी हाम्रो प्रभावमा आउन पनि चाहदैनन ।’ त्यही कारण डा. बाबुराम भट्टराईपछि शुसील प्रधानमन्त्री बन्ने संभावना हुँदा हुँदै पनि हुन नसकेको चर्चा कुटनीतिक क्षेत्रमा चल्ने गरेको छ । पछिल्लो पटक ‘म प्रधानमन्त्री बन्न हिन्दुस्तानीको चाकडी गर्दिन’ भनेर भन्नु, त्यो पोल रामचन्द्र पौडेलले लैनचौर सामु खोल्नु आदि कारण पनि भारतले केपी ओलीलाई संसदीय दलको नेता बनाएर सुशीलको टाउकोमाथि तरबार झुन्डयाएको चर्चा चलिरहेकै बेला अमरेश अर्थात नेपाली अक्टोपसले ‘केपी नै अबको प्रधानमन्त्री’ भनेर भविश्यवाणी गर्नु अर्थपूर्ण छ । यद्यपि, अमरेशलाई नेपाली नेताहरु भने अचेल खासै विस्वस्त ठान्दैनन । अमरेशले आफुलाई भारतकै प्रवक्ताजस्तो देखाउन खोजे पनि बेला बेलामा उनले नेपाली नेता र भारतीय पक्षबीच आफै पनि खेल्ने गरेको भेटिएको छ । एमाओवादी नेता प्रचण्डले पनि अचेल अमरेशलाई भारतको खास मानिसका रुपमा पत्याउन छाडेका छन् । प्रचण्डले पेरिस डाँडामा हालैको एक भेटमा नेताहरुसँग भनेका छन्, ‘त्यो अमरेश सिंह उताको कुरा यता र यताको कुरा उता ल्याउँछन् । तर तिनको कुरा सुनेपछि कति प्रतिशत भ्याट कटाएर सुन्ने हो, त्यो विचार गर्नुहोला । उनका कुरा सत प्रतिशत पत्याउनु हुँदैन । कतिपय कुरा आफैले हावा गफ पनि दिने गरेका छन् ।’
http://www.ratopati.com/

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget