news and more entertainment

स्याङ्जामा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढे

स्याङ्जा, १४ साउन । वर्षा केही रोकिएसँगै स्याङ्जा जिल्लामा भाइरल ज्वरो र टाइफाइडका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।

जिल्लाका विशेषगरी जिल्ला अस्पताल, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र, पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्र, मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र निजी क्लिनिकहरुमा भाइरल र टाइफाइडका बिरामीहरु आइरहेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा नारायण ओझाका अनुसार जिल्ला अस्पतालमा आउने दैनिक करिब ७० जना बिरामीमध्ये झण्डै ४५÷५० जनामा भाइरल र टाइफाइडको सङ्क्रमण देखिएको छ ।

जिल्लाको दुर्गममा पर्ने पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा सबैभन्दा बढी भाइरल ज्वरो र टाइफाइडका बिरामीको चाप देखिएको पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रका वरिष्ठ अहेब डिल्लीराम अधिकारीले बताउनुभयो ।

“भाइरल ज्वरो सबैभन्दा बढी बालबालिकामा देखिएको छ” वरिष्ठ अहेब अधिकारीले भन्नुभयो, “एक हप्ताअघिदेखि देखिएको यो समस्याले उपचारमा समेत निकै कठिनाइ भएको छ ।” भाइरल ज्वरोका कारण बालबालिका अचेतसमेत हुने गरेको अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक आउने ९० जना बिरामीमध्ये ७० भन्दा बढी बिरामी भाइरल र टाइफाइडका छन् । “प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरल ज्वरोका बिरामी बढेपछि नियमितजसो २ बजे बन्द गरिने बहिरङ्ग विभागलाई ४ बजेसम्म चलाउनु परेको छ,” अधिकारीले भन्नुभयो, “ज्वरोका बिरामीको चाप बढेपछि स्वास्थ्य केन्द्रमा औषधिको भण्डार पनि घट्दै गएको छ ।”

पञ्चमूल दुर्गम स्थानमा रहेको र ग्रामीण सडकहरु पनि वर्षाका कारण बिग्रिएकाले औषधिको आपूर्तिमा थप समस्या आउने हो कि भन्ने चिन्तामा आफूहरु रहेको श्री अधिकारीले बताउनुभयो ।

त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका लागि आउने औसत ८० जना बिरामीमध्ये ५०÷५५ जना बिरामी भाइरलका भेटिएको प्राथमिक स्वास्थ्य केन्द्र वालिङले जनाएको छ ।

त्यस्तैगरी मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि दैनिक आउने ६० जना बिरामीमध्ये झण्डै ४५ जना बिरामी भाइरल ज्वरोका भेटिएको वरिष्ठ अहेब तुलसीराम भण्डारीले बताउनुभयो ।

एक्कासि रुघाखोकी लाग्ने, हाच्छ्यूँ आउने, शरीर दुख्ने, घाँटी दुख्ने समस्या भाइरल ज्वरोको मुख्य लक्षण भएकाले यो अवस्थामा बिरामीले पूर्ण आराम गर्नुपर्ने जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा नारायण ओझाले बताउनुभयो । बिरामीले यो समयमा तातो पानी तथा झोलिलो पदार्थ बढी सेवन गर्नुपर्ने उहाँको भनाइ छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget