news and more entertainment

शीर्ष नेताहरूले गोलमेच सम्मेलनबाट नयाँ संविधान तयार गर्न तयारी

ललितपुर, श्रावण ११ - संविधानसभाको अवसानप्रति आत्माआलोचना गर्दै शीर्ष नेताहरू गोलमेच सम्मेलनबाट नयाँ संविधानका अन्तर्वस्तु खोज्न र असन्तुष्ट पक्षको माग सुनुवाइ गर्न सहमत भएका छन् । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसँग पहिलोपल्ट सँगै बसी बिहीबार शीर्ष नेताहरूले सहमतिका आधार खोजेका हुन् ।
त्यसका लागि पहिले भए/गरेका गल्ती नदोहोर्‍याउने र आगामी दिनमा सहमतिका लागि गोलमेच सम्मेलनदेखि नयाँ संविधानका अन्तर्वस्तु खोजी गर्नेसम्मका आधार दलहरूले तय गरेका हुन् ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र नेकपा-माओवादी अध्यक्ष वैद्यबीच कुपन्डोलस्थित एक होटलमा बिहीबार भएको बैठकमा उनीहरू सहमतिमा आएका हुन् ।
छलफलमा नेताहरूले संविधान नलेखी अन्तरिम संविधानलाई सहमतीयबाट बहुमतीय आधारमा निर्णय हुने भनी संशोधन गर्नु, संविधानसभाका २४ दललाई अवज्ञा गर्नु, संविधानसभा अवसान हुनु र गैरराजनीतिक नेतृत्वको सरकार बन्नुलाई गल्तीका रूपमा लिई त्यसबाट पाठ सिक्दै अघि बढ्नेमा सहमति जनाएका छन् । तर उनीहरूले आफूहरूबीच सहमति नजुटेकाले बाध्यताले गैरराजनीतिक सरकार बनाउनुपरेको दोहोर्‍याएका थिए ।
'फेरि बन्दुक उठाउन त हामीलाई पनि रहर छैन । तर उठाइदिए हुन्थ्यो जसरी तपाईंहरूले काम गर्नुभयो,' सँगै रहेका शीर्ष नेतातिर औंल्याउँदै वैद्यले भने, 'सहमति खोज्ने हो भने त्यसको विन्दु खोजौं । आफैं निर्णय गरौं । संविधान बन्ने ग्यारेन्टी भएपछि चुनाव पनि गरौं ।'
जवाफमा दाहाल, कोइराला, खनालले मंसिर ४ मा चुनाव हुने सर्तमा आफूहरू असन्तुष्ट पक्षले राखेका राजनीतिक माग सम्बोधन गर्न तयार रहेको बताएका थिए । त्यसका लागि ३ नेताहरू केही बुँदामा राजी भए ।
पहिलो, सर्वदलीय गोलमेच सभा, दोस्रो अहिलेको राजनीतिक समिति (संयन्त्र) हेरफेर, तेस्रो वैद्यपक्षलाई सरकारमा सहभागी गराउने र चौथो गोलमेचमै संविधानका अन्तर्वस्तुमा छलफल गरी विवादित विषयमा टुंगो लगाउने विषयमा उनीहरू सहमत
भएका हुन् ।


'यी सबै विषय हामी कुरामात्र होइन, काम नै गरेर देखाइदिन्छौं । तपाईं (वैद्य) हरू पनि आउनुपर्‍यो,' संयोजक दाहालले भने, 'अरू कुरा त औपचारिक वार्तामै होला । सबैको विन्दुचाहिँ चुनावै हुनुपर्छ ।'
कांग्रेस सभापति कोइरालाले पनि अहिलेअदालत बाट उम्कन वैद्यपक्ष चुनावमा नआई अन्य विकल्प नरहेको बताए । 'हामी सबै तरबारको धारमा हिँड्नुपरेको छ,' गम्भीर भई सुनिरहेका वैद्यलाई हेर्दै उनले भने, 'मेरो अनुरोध र प्रार्थना छ, राजनीतिक उपलब्धि जोगाउन सहमतिमा आइदिनुस् ।'
एमाले अध्यक्ष खनालले अहिलेको सरकारको राजीनामा माग्दा नयाँ बन्ने ग्यारेन्टी नभएकाले सहमति गरेर चुनाव गर्नु नै उत्तम विकल्प रहेको औंल्याए । त्यसका लागि गोलमेचदेखि संयन्त्र र मन्त्रिमण्डल थपघटसम्म विकल्प रहेको उनले बताए ।
बैठकका लागि सुरुमै पुगेका वैद्य होटलमा रहेको गोलमेचमा बसी बाँकी नेतालाई कुरिरहेका थिए । लगत्तै कांग्रेस अध्यक्ष कोइराला, एमाले अध्यक्ष खनाल र त्यसपछि एमाओवादी अध्यक्ष दाहाल आएका थिए । गोलमेच सभाको माग गर्दै आएका नेकपा-माओवादीका अध्यक्ष वैद्यसहितको छलफल हुने होटल परिसरमा कुर्ने ठाउँ संयोगले गोलमेच नै थियो । कार्यक्रम गर्ने हलको नाम रहेछ, किरण ।
'यो हल तपाईंकै हो,' एमाले अध्यक्ष खनालले वैद्यतिर हेर्दै भनेका थिए, 'तपाईंकै हलमा बसौं । चुनावका कुरा गरौं । निष्पक्ष हुन्छ र षड्यन्त्र हुँदैन भने चुनावमा जाऔं ।'
कार्यक्रममा प्रायः ढिलो देखिने खनाल समयमै पुगेपछि पेसागत संगठनहरूको साझा संजाल (पापड) का सदस्यले जिज्ञासा राखेका थिए । जवाफमा वैद्यतिर हेर्दै खनालले भने, 'सधैं एउटै दृष्टि राख्नु भएन नि । कि कसो कमरेड ?' अवरुद्ध राजनीतिक प्रक्रियाको गाँठो फुकाउनका लागि पापडले असन्तुष्ट वैद्यसहित प्रमुख दलका शीर्ष नेताहरूलाई एकै ठाममा उभ्याउने पहल गरेको थियो । माओवादीसहित ३३ दललाई उच्चस्तरीय समितिले बिहीबार नै वार्ताका लागि दोस्रोपल्ट पत्र पठाएको थियो दो। पापड अध्यक्षको समेत जिम्मेवारी लिएका पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले दलहरूलाई सहमतिको विन्दुमा ल्याउन पेसागत संगठनहरू भावी दिनमा समेत तयार रहेको बताएका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget