news and more entertainment

म अहिले प्रधानमन्त्री भएको भए ज्ञानेन्द्रलाइ जेल हाल्थे भट्टराई ..

८ साउन, काडमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रप्रति तीव्र आक्रोश पोख्नुभएको छ । पूर्वराजाले विभिन्न शक्तिकेन्द्रमा दूत पठाएर कुनै पनि प्रकारको राजा बनाइदिन अनुनय गरेको र मन्दिर डुल्ने बाहनामा संविधानसभाको चुनाब भाँड्न खोजेको भट्टराईको आरोप छ । ज्ञानेन्द्रलाई राष्ट्रवादी देखाउन खोजिए पनि उनले आफूलाई राजा बनाइदिन विदेशी प्रभुसँग अनुनय गरिरहेको भट्टराईले बताउनुभयो ।
‘अहिले ज्ञानेन्द्रले मान्छे मुभ गरिराखेका छन् । कुनै पनि प्रकारको राजतन्त्र फर्काउन पाए प्रभुहरुको जे पनि मान्छु भनेर उनी चारैतिर घुमेका घुम्यै छन् । हामीले यो थाहा पाइराखेका छौं । ललितपुरको सानेपास्थित आफ्नै निवासमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भन्नुभयो- ‘ज्ञानेन्द्रले मन्दिर र बाढीपीडितको बाहनामा संविधानसभाको चुनाव बिथोल्न देशव्यापी अभियान चलाइरहेका छन्, म भएको भए जेल हाल्थें ।’
पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्रवादी देख्ने र लोकतान्त्रिक शक्तिलाई विदेशीको दलाल भनी प्रचार भइरहेको भन्दै भट्टराईले आक्रोश व्यक्त गर्नुभयो । ‘यो गम्भीर विषय हो, लोकतन्त्रवादी दलहरुलाई दलाल भन्दै ज्ञानेन्द्रलाई राष्ट्रवादी देखाउने प्रयत्न भइरहेको छ ।’ भट्टराईले भन्नुभयो,’ गणतन्त्रविरोधी शक्तिहरुले संक्रमणकाल लम्बिँदै जाँदा जनतामा भ्रम छर्ने र नेता असफल भए, यी नेताहरु दलाल हुन्, विदेशीको चलखेल बढ्यो भन्ने प्रचार गरेर एउटा डरलाग्दो प्रयत्न गरिरहेका छन् । ज्ञानेन्द्रले अहिले नाटक गरिरहेका छन् ।’
ज्ञानेन्द्रबारे भट्टराईको भनाइ उहाँकै शब्दमा :
मलाई आफू सरकारमा हुँदा पनि यस्तो कुरा आएको थियो । तर, अरु बल्लबल्ल गणतन्त्रवादी भएकाहरुले बढी गर्यो भन्लान् भनेर मात्रै हो । नाटक गर्न अहिले वर्षाको बेलामा मन्दिर-मन्दिर चाहार्दै हिँडेका छन् । उनी सीधै राजनीति गर्न हिँडेका हुन् । महन्थहरु र मन्दिरमा पुजारीलाई मिलाएर ०४७ सालको संविधान ब्युँताउने अभियानै लिएर हिँडेका छन् ।
महाकालीका बाढी पीडितलाई देखेर यिनलाई अहिले आएर आँशु आयो ? उनकै बाबु बाजेले सेती महाकालीका जनतालाई यो अवस्थामा पुर्याएका हैनन् ? सेती महाकालीमा क्षेत्रीय उत्पीडन हुनु, बाटोघाटो नबन्नु, महाकालीको किनारमा सदरमुकाम राखेर त्यहाँका जनतालाई सुरक्षाको व्यवस्था नगरेको कसले हो ? के हामीले त्यसो गरेको हो ? ज्ञानेन्द्रकै पिता पूर्खाले यस्तो अवस्था बनाएको हो । तर, उनी अहिले बडो गोहीका आँशु झार्दै हिँडेका छन् । भनेपछि उनले सीधै राजनीति गरिराखेका छन् ।
उनी विभिन्न च्यानलमार्फत् मलाई राजा बनाइदिनुपर्यो भन्दै विन्तीपत्र पनि हाल्दै हिँडिराखेका छन् । तिनले उल्टो राष्ट्रवादी हुँ र दलहरु चाँहि, अझ हामी माओवादीचाहिँ विदेशी दलाल हुन् भनेर प्रचार गरेका छन् । यो बडो दुर्भाग्यपूर्ण र गम्भीर छ । केही समययता मिडिया सेक्टरमा खासगरी हामीलाई बदनाम गर्ने, हामीलाई चाहिँ दलाल भन्ने प्रचार भैरहेको छ । हामीले विदेशी हस्तक्षेपका विरुद्ध सुरुङ खन्यौं । अब पनि वैदेशिक हस्तक्षेप हुन्छ भने फेरि पनि सुरुङ युद्ध लड्न हामी तायर छौं । तर, यी दरबारियाहरुले बाहिर चाहिँ राष्ट्रवादको नारा उराल्ने, भित्रचाँहि उनैको दलाली गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने ? राष्ट्रवाद र राष्ट्रियता भनेको के ? भारतीय पुँजीपतिको एजेन्ट बनेर सिप्रदी टे्रडिङदेखि खाने यिनीहरुको भात भान्सै त्यहीँबाट चलेको छ । दरबारिया राणा, शाह परिवारहरुको विदेशी एकाधिकार पुँजीपतिहरुसँग लगानी छ । यिनीहरुको आर्थिक स्रोत के हो ? विदेशमा पैसा राख्ने, र भारतीय पुँजीपतिसँग लगानी गरेर बाँच्ने चाहिँ राष्ट्रवादी, हामी भएभरको सबै सुम्पेर हिँड्ने हामी दलाल ?
अहिले दलहरुलाई, विशेष गरी हामी माओवादीलाई दलाल हुन् भनेको भन्यै गरेपछि गोयवल्सले जसरी सत्यजस्तो बनाउन खोजिँदैछ । मिडियामा हेर्यो, सोसियल मिडियामा हेर्यो जता पनि हामीलाई दलालै दलाल । दलाल भनेको त हरुको हित गरेवापत फाइदा लिने हो । हामी जनताको ताकतले जितेर आएका हौं । कसैको दया मायाले होइन । हामीले के पायौं ? हामी अहिले पनि जनताको निम्ति काम गरिरहेका छौं ।
मैले भन्न खोजेको के हो भने ज्ञानेन्द्र अहिले जसरी मुभ भइराखेका छन्, चालढाल राम्रो छैन । यो विषय गम्भीर छ र यसमा अहिले कोही पनि बोलिराखेको छैन । म प्रधानमन्त्री भैसकेको मान्छे छुचो भएर बोल्यो भन्लान् भनेर हेरेको । तर, विषय धेरै गम्भीर भयो । अब यसविषयमा हाम्रो पार्टी बोल्छ । म बोल्छु । ज्ञानेन्द्रको जुन क्रियाकलाप छ, त्यसको भण्डाफोर गरिएन भने जनतालाई भ्रमित पार्ने र फेरि एउटा प्रतिक्रान्तिको आधार तयार पार्ने काम हुन्छ । यसमा हामीले बेलैमा सतर्क हुनुपर्छ । यसमा मिडियाका साथीहरुले अलि गम्भीर रुपमा लिनुपर्छ । उनले मन्दिर डुल्दै र बाढी पीडितका लागि गानेहीको आँशु चुहाउँदै हिँडेका छन्, यो प्रतिक्रान्तिका लागि आधार तयार पार्न गरिएको हो । केही मान्छेहरु म जसको नाम लिन चाहन्न, उनीहरुले पनि राजतन्त्रको पक्षमा वकालत गरिरहेका छन् र दलहरुलाई बदनाम गर्ने प्रयत्न गरिराखेका छन् । यो चाँहि गम्भीर छ ।
ठीक छ, हामी दलहरुका केही कमी कमजोरी रहे, तर जनता र देशप्रतिको प्रतिवद्धतामा प्रश्न उठाउन मिल्दैन । हामी सफल हुन सकेनौं, तर सफल नहुनुलाई खराबसँग तुलना गर्न मिल्दैन । राजावादीहरुको पछिल्लो गतिविधि चुनाव भाँड्ने ढंगले आएको छ । दुर्भाग्य के छ भने कतिपय दलभित्र पनि उनीहरुले चलखेल गर्ने र उक्साउने काम गरिराखेका छन् । क्रान्तिकारी भनिएका केही साथीहरुले पनि पूर्वराजालाई राष्ट्रवादी देख्न थालेका छन् । चुनाव पनि बिथोल्न खोज्ने अनि राजालाई पनि राष्ट्रवादी देख्ने, यो कुराले कहाँ पुगिन्छ ? चुनाव नहुने हो भने त्यसले राजावादीलाई बाहेक अरुलाई फाइदा हुँदैन । त्यसैले हाम्रा क्रान्तिकारी साथीहरुले पनि यस्तो आत्मघाती काम गर्नु हुँदैन ।
महेन्द्रले सापेक्षितरुपमा राष्ट्रियताको अडान लिएको भन्ने हामीलाई लागेको थियो । तर, यी ज्ञानेन्द्र त राजै होइनन्, ब्यापारी हुन् । यस्ता पनि राष्ट्रवादी हुन्छन् ? अहिले पनि उनले मान्छे मुभ गरिराखेका छन् । कुनै पनि प्रकारको राजतन्त्र फर्काउन पाए प्रभुहरुको जे पनि मान्छु भनेर उनी चारैतिर घुमेका घुम्यै छन् । हामीले यो थाहा पाइराखेका छौं । त्यसैले हामी भ्रममा नपरौं ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget