news and more entertainment

नेपाल प्रभावशाली जितसँगै फाइनलमा

काठमाडौं, श्रावण १३ - नेपालले सुरुआती २२ मिनेटभित्र आक्रामक खेल पस्कँदै तीन गोल गरेपछि बंगलादेशविरुद्ध सहज जित हात पार्दै शनिबार दोस्रो साफ यू-१६ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको छ । नेपालले परम्परागत दक्षिण एसियाली प्रतिद्वन्द्वीलाई समग्रमा ५-१ ले पन्छायो । प्रतियोगितामा वर्षातले प्रभावित नभएको खेलमा नेपालको पहिलो जित हो ।
उपाधिको दाबेदार नेपालले चार खेलयताकै उत्कृष्ट लय बंगलादेशविरुद्ध समात्यो । निरन्तर एकपछि अर्को आक्रमण गर्‍यो । नेपाली खेलाडीले ७ मिनेटभित्रै गरेको तीन 'फ्रि-हेडर'मा बलले गोलपोस्टको दिशा लिएन । त्यसपछि भने दनादन गोल गर्‍यो । सुजन लिम्बू इङनामले आठौं मिनेटमा गोलको खाता खोले ।
पाहुना टोलीका गोलकिपर पप्पु होसेन अगाडि बढेको स्थितमा विमल घर्तीमगरले 'चिप' गरेको बल क्रसबारमा लागेर फर्केको थियो । त्यही रिबाउन्ड बललाई सुजनले गोलमा परिणत गर्दै नेपाललाई अगाडि बढाए । विमलले अमित तामाङको क्रस उपयोग गर्दै २० औं मिनेटमा गोल गरेपछि नेपालले २-० को अग्रता लियो । उनको 'डाइभिङ हेडर'मा  निस्किएको त्यो गोल लोभलाग्दो थियो । भुटानविरुद्ध ७-० को जितमा ह्याटि्रक गरेका उनी ६ गोलसहित प्रतियोगिताको गोलकर्ताको सूचीमा पहिलो
स्थानमा छन् ।
तेस्रो गोल अञ्जन विष्टको नाममा रह्यो । कप्तान हेमन्त थापामगरको कर्नरमा बनेको मुभमा उनले बललाई २२ औं मिनेटमा गोल लाइन पार गराएका थिए । दशरथ रंगशालामा नेपाली किशोर खेलाडी सुरुका ३० मिनेट उत्कृष्ट देखिए । त्यसपछि बंगलादेश विस्तारै अगाडि बढ्यो । तर, गोल फर्काउन सकेन । यस्तैमा विकास थापाको क्रस क्लियर गर्ने प्रयासमा बंगलादेशी डिफेन्डर मोहम्मद एटिक्ज्जामनले ५६ औं मिनेटमा आत्मघाती गोल गरेपछि नेपालको अग्रता ४-० भयो ।
खेलले ठीक एक घन्टा छुँदा सुजनले व्यक्तिगत दोस्रो गोल गरे । पेनाल्टी क्षेत्रमा गोलकिपर होसेनले फुत्काएको बल नियन्त्रण गर्दै उनले नेपालको पाँचौं गोल गरेका थिए । स्वदेशी डिफेन्सको समझदारी अभावको फाइदा लिंदै बंगलादेश फरवार्ड अल अमिन तुसारले ६५ औं मिनेटमा गोल गरे । तर, खेलमा
र्फकन बंगलादेशलाई निकै ढिला भइसकेको थियो । विमलको हेडरमा बंगलादेशका डिफेन्डर मोहम्मद एस होसेनले गोल लाइनबाट ७७ औं मिनेटमा बल क्लियर गरे । आकाश थापाको पि|mकिकमा अनन्त तामाङले ८२ औं मिनेटमा गरेको हेडर पोलमा लागेर फर्कियो । नेपालले थप ३ गोलका अवसर उपयोग गर्न सकेन । दुर्लभै गोलका अवसर सिर्जना गरेको बंगलादेश ६९ औं मिनेटमा सहज अवसर उपयोग गर्न चुक्यो ।
कुनै पनि स्तरको अन्तर्राष्ट्रिय फुटबलमा नेपाल १४ वर्षपछि फाइनल पुगेको हो । सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुदमा नेपालले दशरथ रंगशालामै बंगलादेशविरुद्ध फाइनल खेलेको थियो । त्यसमा नेपाल रजतपदकमै समेटियो ।
नेपालले साफ यू-१६ मा पहिलोपल्ट फाइनलमा स्थान बनाएको हो । दुई वर्षअघि दशरथ रंगशालामै भएको पहिलो संस्करणमा नेपाल २-१ ले बंगलादेशलाई हराएर तेस्रो भएको थियो । त्यसबेला समूह चरणमा नेपाल र बंगलादेशले गोलरहित नतिजा निकालेका थिए । त्यसैले बंगलादेशविरुद्ध साफ यू-१६ का ३ खेलमा नेपाल अगाडि छ ।
प्रशिक्षक आत्मविश्वासी बन्दै 'फाइनल पुग्न र उपाधि जित्न सक्षम छौं भन्ने देखायौं,' नेपालका प्रशिक्षक बालगोपाल महर्जनले भने, 'आक्रामक रूपमा सबैले राम्रो खेले । सबैले शतप्रतिशत शक्ति लगाए । यस्तै खेललाई फाइनलमा निरन्तरता दिने प्रयास गर्नेछौं ।' भारतविरुद्ध अफगानिस्तानको विजेतासँग नेपालले मंगलबार फाइनल खेल्नेछ । 'अब फाइनलको तयारी गर्नेछौं । ट्रफी बाहिर -विदेश) नपठाउने धोको छ,' उनले भने ।

खेलाडी स्वार्थी भएकाले दोस्रो हाफमा बल पोसेसनमा राख्न नसकेको महर्जनले बताए । मिडफिल्डमा जमेका कप्तान हेमन्तले भने, 'बंगलादेशले रफ एन्ड टफ खेल्यो । तीन गोल गरेपछि गोल हान्ने मात्र सोच आयो । त्यसैले खेल (३० मिनेटपछि) राम्रो भएन ।'
खेलको सबै पक्षमा नेपाल राम्रो भएको बंगलादेशका डच प्रशिक्षक रेने कोस्टरले बताए । 'शारीरिक, टेक्निकल, ट्याक्टिकल र मानसिक रूपमा नेपाल राम्रो देखियो,' उनले भने, 'अन्तर्राष्ट्रिय रंगशालामा पहिलोपल्ट हजारौं दर्शकअघि नयाँ मैदानमा हाम्रा खेलाडी नर्भस भए । त्यसैले गल्ती गरे । विशेषगरी गोलकिपरले बिर्सनलायक गल्ती
गरे ।' बढी उमेरका खेलाडी खेलाएको आशंका गर्दै उनले भने, 'नेपालको मात्र होइन, सबै देशका खेलाडी शारीरिक रूपमा निकै बलिया छन् । उनीहरू सबै १५-१६ वर्षका मात्र पक्कै होइनन् ।'
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget